१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भूमि फिर्ता गर्न भारतलाई एनआरएनए युकेको चेतावनी – जमिन फिर्ता हुन्छ : मन्त्री अर्याल

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७७, सोमबार ०९:२३

लन्डन । नेपाल र भारतबीचको सिमा विवाद समाधानका लागि गैरआवासी नेपाली संघ युकेले पहल थालेको छ । संघले आयोजना गरेको एक कार्यक्रमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री पदमा अर्यालले भारतले मिचेको भूमि फिर्ता लिन सरकारले अर्जुन दृष्टि लगाएको बताएकी छन्।

गैरआवासीय नेपाली संघ )एनआरएनए) युकेले आइतबार गरेको नेपाल भारतबीचको सीमा यर्थात र चुनौति विषयक भर्चुअल अन्तरक्रियालाई सम्वोधन गर्दै मन्त्री अर्यालले नेपाल भारतबीचको सीमाका विषयमा गुम्सिएर उकुसमुकु भएर बस्नु पर्ने र लागेको कुरा बोल्न नपाइने बाध्यतासमेत रहेको सुनाइन।

सन् १८१६ को सुगौली सन्धिको आधारमा भएको नेपाल भारत बीचको सीमा निर्धारण भएको बताउँदै उनले कालपानी र सुस्तामा मुख्य विवाद रहेको बताइन्। उनले नेपाल भारतबीच भएका ऐतिहासीक दस्तावेजले ती क्षेत्र नेपालको भूमाग निर्धारण गरेपछि नापजाँच गर्न जाने क्रममा भारतको तर्फबाट अवरोध भएपछि विवाद सुरु भएको बताइन्। उनले सुस्ताको सीमा विवाद समाधान उन्मुख रहेको र दुई देशबीचको सहमति औपचारिक रुपमा घोषणा हुन बाँकी बताइन्।

उनले लामो समयदेखि भारतले मिचेको भूमि लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नक्सामा ल्याउने काम मिचिएको जमिन जुनसुकै हालतमा फिर्ता लिन्छौ भन्ने दृढता व्यक्त गरिन्। उनले नेपालले आफ्नो भूमिलाई नक्सामा राखेपछि नेपाल र भारतबीच यो विषय पेचिलो हुदै सम्बन्धमा चिसोपन आएपछि करिब १ वर्ष दुई देशबीच संवादहिन भएको स्वीकार गरिन्। उनले पछिल्लो समय नेपाल भारतबीच संवाद सुरु भएपछि दुई सीमा विवाद समस्या समधानको लागि निकै सकरात्मक रुपमा अघि बढेको बताइन्।

कार्यक्रमलाई सम्वोधन गर्दै अन्तराष्ट्रिय कानुनका ज्ञाता तथा प्रोफेशर सूर्यप्रसाद सुवेदीले विश्वभर छरिएका नेपालीहरुको कारणले नेपाललाई हेप्न सकिन्न भन्ने अनुभूति दिलाउनमा गैरआवासीय नेपालीहरुले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे।

प्राफेसर सुवेदीले भारतले नेपालको सिमा विवादलाई वार्ताद्वारा समाधान गर्न नचाहेमा अन्तराष्ट्रिय कानूनको सहारा लिन सकिने बताए। उनले नेपाल भारतबीचको सिमा विवाद वार्ताद्वारा समाधान नभए त्यसको विकल्पमा जान सकिने सुझाव नेपाल सरकारलाई दिएको बताए। उनले भारत र नेपाल दुवै देश लोकतन्त्र र रुल अफ लमा विश्वास गर्ने भएको हुँदा नेपाल गुमाएको भूमि फिर्ता पाउनेमा आशावादी रहेको बताए।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले देशको सीमा सुरक्षाको लागि विदेशमा रहेका नेपालीहरु नेपाल सरकारसँग साथ रहेको बताउँदै भारतले मिचेको भूमि फिर्ता लिन विदेशमा हरेका नेपाली प्रतिबद्ध रहेको बताए। उनले राष्ट्रियता एउटा भूगोलभित्र मात्र समित नहुने बताउँदै विश्वभर छरिएका नेपालीहरु नेपालको सीमा रक्षाको लागि तयार रहेको बताए। उनले भूमि फिर्ताले प्रकृया लामो यात्रा रहेको बताए।

एनआरएनए युकेका पूर्वअध्यक्ष महेन्द्र कँडेलले नेपाल भारतबीचको सिमा विवादमा राजनीतिक दलहरुले चुनावी अजेण्डाको रुपमा लैजादा राष्ट्रियता कमजोर भएको वताए। उनले सिमामा भएका समस्यालाई पहिचान गरेर प्रष्ट नीति बनाउन जरुरी रहेको जनाए।

गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षता भएको कार्यक्रमको संचालन महासचिव फडिन्द्र भट्टराईले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष रोजिना प्रधानले गरेकी थिइन् भने धन्यवाद ज्ञापन अर्का उपाध्यक्ष सुनिल खड्काले गरेका थिए।

प्रोफेशर सुवेदी सम्मानित
सो अवसरमा गैरआवासीय नेपाली संघ युकेले प्रोफेशर सूर्य सुवेदीलाई सम्मान गरेको थियो । संघले विदेशमा बसेर सुवेदीले गैरआवासीय नेपाली अभियानमा पुराएको योगदानको कदर गर्दै सम्मान गरेको हो । उनलाई मन्त्री अर्याल र संघका अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा सम्मान गरे ।