८ बैशाख २०८१, शनिबार
Follow Us

के म्याराडोनाको हत्या भएको थियो ?  

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७७, सोमबार १९:००

काठमाडौं। अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको मृत्युपछि उनका निजी डाक्टर अनुसन्धानको घेरामा तानिएका छन् । सम्भावित ‘म्यानस्लाटर’को आशंकामा पुलिसले डा. लियोपोल्डो ल्युकको क्लिनिक र घरमा छापा मारेको अर्जेन्टिनी प्रोसिक्युसनलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । म्यानस्लाटर भन्नाले नियतवश हत्या गर्न नचाहेको भए पनि कुनै व्यक्तिको मृत्यु हुने स्थिति उत्पन्न गरेको भन्ने हुन्छ । डाक्टरमाथि यही स्थिति सृजना गरेको आशंका गरिएको छ ।

पुलिसले म्याराडोनाको उपचारको क्रममा कुनै किसिमको लापरवाही भएको हुन सक्ने सम्भावनाको जाँच गरिरहेको छ । म्याराडोनाका वकिल र परिवारले डाक्टरले उपचारको क्रममा लापरवाही गरेको मान्दै आएका छन् । म्याराडोनाकी छोरीले डाक्टरले उनलाई सही औषधि नदिएकोले उनको ज्यान गएको आरोप लगाएकी थिइन् ।

६० वर्षका म्याराडोनाको २५ नोभेम्बरमा हृदयाघातका कारण अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा ज्यान गएको थियो । म्याराडोनाका वकिल माटियास मोरेलाले उनको निधनको जानकारी सार्वजनिक गरेका थिए । यसअघि नोभेम्बरको सुरुवातमा म्याराडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । यसका अलावा मदिराको लत छुटाउन उनको उपचार भइरहेको थियो । म्याराडोनाका वकिल माटियास मोटालाले उनको मृत्युबारे उठेका आशंकको विस्तृत छानबिनको माग गरेका छन् । मोटालाले म्याराडोनाको घरमा एम्बुलेन्स पुग्न ३० मिनेटभन्दा धेरै समय लागेको बताउँदै अस्पतालमाथि उपचारमा ढिलाइ गरेको आरोप लगाएका छन् ।