१२ बैशाख २०८१, बुधबार
Follow Us

भारतसहित सबै अन्तर्राष्ट्रिय उडान खुला

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७७, सोमबार १९:२०

काठमाडौँ — नेपालले कोरोना माहामारीका कारण ०७६ चैत ९ गतेदेखि रोकेका भारतसहित सबै मुलुकका काठमाडौंका लागि हुने व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार बुधबारको मन्त्रीपरिषद बैठकले मन्त्रालयलाई भारतसहित सबै मुलुकमा उडान सुरु गर्न अनुमति दिएको छ ।

‘नेपाल भारत उडानबारे बुधबारको सरकारको निर्णय आज (सोमबार) अबेर आइपुग्यो,’ सीसीएमसीमा समेत रहेका सहसचिव लामिछानेले भने, ‘नेपाल भारत उडान सञ्चालन खुला भएको जानकारी भोलि परराष्ट्र मन्त्रालयमार्फत भारत र त्यहाँ रहेको हाम्रो दूतावासलाई पत्राचार गर्दैछौं ।’

उनका अनुसार भारतले प्रस्ताव गरेको एयर–बबल मोडललाई मन्त्रीपरिषदले अनुमोदन गरेको हो । यो मोडलमा नेपाल र भारतका वायुसेवाले दुवै देशका नागरिकलाई मात्रै सेवा दिने छन् ।
नेपालमा १६ वटा मुलुकका २६ वटा वायुसेवाले २१ वटा गन्तव्यबाट काठमाडौंका लागि व्यवसायिक उडान अनुमति लिएका छन् ।

नेपालसँग अन्तर्राष्ट्रिय उडान हुने मुलुकहरुमा जापान, दक्षिण कोरिया, चीन, हङकङ, थाइल्याण्ड, सिंगापुर, मलेसिया, भुटान, थाइल्याण्ड र बंगलादेशबाट उडान हुन्छ । त्यस्तै पश्चिममा भारतसहित मध्यपूर्वी मुलुकहरु कतार, कुबेत, मस्कट, युएई र टर्की छन् ।
अन्तर्राष्ट्रिय उडानमा नेपालका चार वटा वायुसेवा (नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, बुद्ध एयर र श्री एयरलायन्स) ले अनुमति पाएका छन् ।