१३ बैशाख २०८१, बिहीबार
Follow Us

किशुनजी क्षमा गर्नुहोस् तपाईं माथि अन्तरघात गरेका हौं

नेपालब्रिटेन डट कम्
८ पुष २०७३, शुक्रबार १५:३१

जयप्रकाश गुप्ता ।

हामी एक–दुई अपवादवाहेक कोइराला परिवारकै सदस्यहरूबाट कोठा भरिएको थियो । यो त्यही कोठा हो, जहाँ केशवप्रसाद कोइरालाको देहावसान भएको थियो । यस्तै अनेकन् भावनात्मक लगावका कारणले नोना कोइरालाले यसलाई निजी कोठा बनाउनुभएको थियो ।

किसुनजी को व्यक्तित्वको चर्चा गरिरहनु पर्दैन । सफा, स्निग्ध र प्रफुल्ल किसुनजी घुँडा माथिसम्मको धोती र कमिज लाएर त्यही भूइँमा बस्नुभएको थियो । कोइराला बर्चस्वको पारिवारिक माहौलमा किसुनजी को बज्रासन बसाइले उहाँलाई एउटै सतहमा बसेकाहरूमध्ये सबैभन्दा अग्लो बनाएको थियो ।

गिरिजाबाबू त्यहाँ हुनु हुन्थेन । बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि देशको शक्तिशाली प्रधानमन्त्रीको रूपमा किसुनजी पहिलो पटक बिराटनगर कोइराला निवास पुग्नुभएको थियो । नोना कोइरालालाई उहाँले सधैं नोनाजी भनी सम्बोधन गर्नुहुन्थ्यो । त्यसबेलासम्म गिरिजाबाबू प्रधानमन्त्रीको दाबेदार हुने कुरै थिएन । अन्तरिम सरकार थियो । संबिधान नै आएको थिएन । निर्वाचन नै भएको थिएन ।

यसबेला किसुनजी सबै कांग्रेसजनका आँखाका तारा र अपेक्षाका सबैभन्दा अग्ला व्यक्ति हुनुहुन्थ्यो । उहाँको स्वागतमा नोना कोइरालाको खुट्टा भूइँमा थिएन । दुश्मनलाई पनि घरमा माया गर्ने कोइरालाहरूका सामु त्यसबेला सबैभन्दा प्रिय पात्र जो थिए । फेरि किसुनजी नोनाका लागि नेता मात्र हुनुहुन्थेन, रामनगरकी छोरी नोनाका लागि पारिवारिक पुरोहितका बंशज पनि हुनुहुन्थ्यो, जो प्रजातन्त्र स्थापनाको लडाइँमा कोइरालाहरूको ईगो सफल भएको प्रतीकको रूपमा त्यस दिन त्यहाँ हुनुहुन्थ्यो ।

हामी मस्का भन्छौ नि, मस्का लगाउने । किसुनजी नोनालाई मस्का लगाउँदै हुनुहुन्थ्यो । हामीतिर हेर्दै भन्नुभयो, ‘बुझ्नु भो, म जेलमा हुदाँ सधैँ नोनाजीको हातबाट बनेको खाना सम्झेर बस्थेँ ।’ सात सालमा बिराटनगर मजदुर हडतालका दौरान राणाहरूले एउटै डोरीमा बाँधेर कोइराला परिवारका महिला समेत नौ जनालाई बिराटनगरबाट अड्डासार गरेर काठमान्डु पुर्याएको स्मरण गर्दै नोनालाई सोही परिवारका बीरांगना भन्दै हुनुहुन्थ्यो ।

नोनाले पस्कनुभएको रेड लेबल ह्वीस्कीका केही पेगपछि किसुनजी अचानक गम्भीर हुनुभयो । विस्तारै उहाँका कुराहरू बढी दार्शनिक, आस्थामय र आध्यात्मिक हुदै गए बद्री बस्नेत, अशोक कोइराला, हरि सापकोटा, रमेश घिमिरे, उमेश गिरी, बसन्त भट्टराई, नगेन्द्र ढुंगेलहरू थियौं । यिनै जमाततर्फ हेर्दै किसुनजीले सोध्नुभो, ‘ल भन्नुस् म कुन शक्तिको प्रेरणाले १६ बर्षसम्म जेल बस्न सकेहुलाँ ?’ यो सबैका लागि समस्या खडा गर्ने जिज्ञासा थियो । संसारिकतामा नफसेको, आध्यात्मका उपासक, चरित्रका हठी, स्वभावका रमाइलो र व्यवहारका कुशाग्र, यो र यो भन्दा धेरै अन्तरनिहीत अदृश्य ज्ञानगुणका किसुनजी यत्रो बर्ष कुन प्रेरणाले जेल बस्नु भयो भन्ने सामर्थ्य त्यहाँ कसैमा थिएन ।

शक्तिमा मानिस देवत्व देख्छ । राजालाई त हामीले अवतार नै मान्यौं । राजा महेन्द्रले सत्ता हत्याएपछि भारतका तत्कालीन राजदूतले दूतावासको कार्यक्रममा राजाको आरती नै उतारे । हिन्दूहरूको सबैभन्दा लामो पुजाआजा त शक्ति पीठहरूमै हुन्छ । शक्तिका अगाडि सँगै जेलमा रहेका श्रीभद्र शर्मा, रूद्रप्रसाद गिरीहरू टिक्न सकेनन् । म स्वयं यही आस्थाको परिवेश र व्यवहारमा बाँचेको मानिस के अर्थमा अलग छु र ?

किसुनजीमा जीवनका तत्ववोधहरूले ठाउँ ओगट्दै गएको थियो । हामी सब मौन रहेर, किसुनजीका कुराहरू गमिरहेको देखाएर मौन दार्शनिक भैसकेका थियौं । अर्थशास्त्रीका वारेमा भन्छन नि, चारजना घाघडान अर्थशास्त्रीका बीच बसेका पाँचौं अज्ञानी त्यतिन्जेल मात्र अर्थशास्त्री हुन्छ, जबसम्म त्यो अर्थशास्त्रका वारेमा बोल्दैन । किसुनजी का सामुन्ने हामी त्यस्तै भएका थियौं । म त निश्चय नै ।

तर, ससाना कुरामा रिसाउने, असन्तुष्ट भैरहने, हरबखत आफूमै पुरूषार्थ देख्ने हामी जस्ताका लागि भने यो गह्रुँगो सवाल थियो कि कुन प्रेरणाले किसुनजी यत्रो लामो समयसम्म अविचलित रूपमा, अडिग भै जेलमा बस्न सक्नुभयो ?

उहाँ भन्दै हुनुहुन्थ्यो, ‘नोनाजी, राममणि आचार्य दी़क्षित जस्ता उबेलाका प्रशासकहरू आउँथे, सादा कागज छोडेर जान्थे । किसुनजी मनमा जे आउँछ, चार लाइन लेखेर दिनोस् । जेलबाट रिहा हुनोस् र गर्नुस राजनीति भन्थे । धेरैले यसो गरेका पनि थिए ।’ कतिपय पटक आफु गलेको र भोली बिहानै छुट्ने बाटोमा बढ्ने प्रबल इच्छा बन्ने गरेको निश्चयी भएर राती सुत्ने गरेको सुनाउनुभयो । तर, बिहान बिषम् अवस्थामा प्रति दिन बिताउने गरेका साथीभाहरूको प्रतिबद्धताबाट आफूले ती कुराहरूलाई बिर्सने गरेको सुनाउनुभयो ।

धेरैले प्रारब्धलाई मानिसको बाह्य देखिने उपलब्धि ठानेका हुन्छन् । होइन, प्रारब्ध भनेको आन्तरिक दृढता हो । अध्ययनको आर्जनबाट मानिसको मनमा प्रारब्धको निर्माण हुन्छ । यही प्रारब्धले बाह्य परिणाम दिन्छ । प्रतिकूलतासँग लड्ने क्षमता दिन्छ । यही क्षमता मैले जेलमा आर्जन गरे र म यत्रो लामो समयसम्म टिक्न सकेँ ।

किसुनजीले कमसे कम मलाई त यन्त्रवत् श्रोता बनाउनुभएको थियो त्यस राती । ह्वीस्की फिका भएको थियो । जीवनमा अमिट रंगहरू थपिएको थियो । मध्य रात्रीसम्म सम्झेर लेखि ती कुराहरू लेखिबसें ।

उहाँले नोना आमातिर उन्मुख हुँदै भन्नुभयो, ‘नोनाजी यही त्यो कुरा हो, जसले तपाईको कूल पुरोहितलाई देशको प्रधानमन्त्री बनायो ।’ मैले राम्ररी ठ्म्याएको थिएँ, नोना आमाको अनुहार किसुनजी को प्रारब्धमा त्यस दिन गौरवान्वित देखिएको थियो ।

म आज सम्झिन्छु, थोरै समयमा सबकुछ कसरी फेरियो ? नियतिले हामीलाई कहाँकहाँ पुर्यायो ? काँग्रेस जो एउटा समभाव, सद्भाव तथा सहकार्यको कूल थियो, एक आपस्तमा, एकअर्काका लागि घोर प्रतिकूल भयो । हामीमध्ये धेरै जो जीवनभर किसुनजी प्रति अभिभूत रहेका थियौं, उहाँ चुनाव हार्नोस् चाह्यौँ । धेरथोर लाग्यौँ पनि । म पनि लागेँ ।

तपाईको ९३ औं जन्मजयन्तीका मौकामा म ऋणीको भावपूर्ण श्रद्धा सुमन अर्पित छ ।

(गिरिजाप्रसाद कोइरालाको प्रथम प्रधानमन्त्रीत्वकालमा उहाँका प्रेस सल्लाहकार रहेका पूर्वमन्त्री जयप्रकाश गुप्ताले फेसबुकमा ब्यक्त गरेको धारणा)