१३ बैशाख २०८१, बिहीबार
Follow Us

कतारका एनआरएनले दिए धुर्मुस–सुन्तलीलाई ४० लाख

नेपालब्रिटेन डट कम्
८ पुष २०७३, शुक्रबार १६:०८

काठमाडौं– तेस्रो एकीकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस–सुन्तली फाउण्डेशनलाई एकै व्यक्तिबाट ४० लाख रुपैयाँ सहयोग प्राप्त भएको फाउन्डेशनले जनाएको छ।

कतारमा व्यवसाय गरिरहेका प्रकाश कोइरालाले आफ्नो लुरेन्स कन्ट्रक्टिङ एण्ड जेनेरल क्लिनिङ कम्पनीका तर्फबाट उक्त सहयोग रकम एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि प्रदान गरेको फाउण्डेशनले जनाएको छ।

फाउन्डेशनका अनुसार आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस–सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। नेफ्टा अवार्डमा सहभागी हुन हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे दुबई जाने खबर पाएपछि सहयोग हस्तान्तरणका लागि आफू दुबै गएको उनको भनाई उदृत गर्दै फाउन्डेशनले जनाएको छ।

‘धुर्मुस सुन्तलीलाई यसअघि गरेको सहयोग खेर गएन,’ कोइरालाको भनाई उदृत् गर्दै फाउण्डेशनले भनेको छ, ‘त्यसैले तेस्रो नमुना बस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण गर्न कतारबाट दुबई आइपुगेको हुँ।’ उनले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ६ लाख रुपैयाँ नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए।

आफूले सहयोग गर्न चाहेको व्यक्तिले राहत महसुस गर्ने गरी फाउण्डेशनले काम गरेर देखाएको हुनाले आफूले सकेको सहयोग गरेको कोइरालाको भनाई रहेको फाउण्डेशनले जनाएको छ। काम गरेर देखाउनेलाई सहयोग गरे एउटा एउटा गरेर थुप्रै बस्ती निर्माण हुने निश्चित रहेको भन्दै उनले सकेको सहयोग गर्न सबैसँग आग्रह गरेका छन्।

यस्तै, फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले अवार्ड थाप्न विदेश पुग्दा पाएको सहयोगले आफूलाई निकै खुसी मिलेको बताएका छन्। देश तथा विदेशमा बस्ने र नेपालको भलो चिताउने सबैले विकास चाहेका छन्, त्यो परिर्वतनको महसुस दिलाउन आफूहरु कटिबद्ध भएर लाग्ने उनको दृढता छ।

मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छन्। ‘हामीले आँट गरेका छौँ, सहयोगी हातहरुको साथले हाम्रो पाइला अघि बढाउन मद्धत गर्ने छन्,’ उनले भनिन्, ‘आफ्नो ठाउँबाट सकेको सहयोग गर्न सबैमा अपिल छ।’