१६ चैत्र २०८०, शुक्रबार
Follow Us

इटालीमा म्याराडोनाको नामवाट रंगशालाको नामाकरण

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०७७, शनिबार ०३:४८

लन्डन । इटालियन सिरी ए फुटबल क्लब नापोलीले क्लबको रंगशालालाई क्लबका लिजेन्ड डिएगो म्याराडोनाको नाममा नामाकरण गरेको छ । अर्जेन्टिनाका मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको निधनपछि क्लबले उनको नाममा रंगशालाको नामाकरण गरेको हो ।

नापोली नगर परिषदको प्रस्तावलाई स्विकृति प्राप्त हुने बित्तिकै सान पाउलो रंगशालालाई डिएगो अर्मान्डो म्याराडोनाको नाममा रुपान्तरिक हुनेछ । नापोलीका मालिक औरिलियो डी लौरेनिटसले म्याराडोनाको निधनपछि एक खुल्ला पत्रमा रंगशालाको नाम बदल्ने प्रस्ताव गरेका थिए ।

नेपल्सका नगरप्रमुख लुइगी डी मेजिस्ट्रिसले समेत त्यसमा समर्थन गरेका थिए । म्याराडोनाले नापोलीमा सात वर्ष बिताएका थिए । उनी सन् १९८४ मा बार्सिलोनाबाट नापोली आएका थिए । उनले सिरि ए क्लब नापोलीलाई सन् १९८७ र १९९० मा शीर्ष डिभिजनको लिग जिताएका थिए । उनले नापोलीबाट १ सय ८८ खेलमा ८१ गोल समेत गरे ।

म्याराडोनाको गत महिनामात्र ६० वर्षको उमेरमा हृदयघाटका कारण निधन भएको थियो । अर्जेन्टिनाबाट उनी चार पटक विश्वकपमा सहभागी भएका थिए । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा अर्जेन्टिनाले उपाधि जितेको थियो ।