१३ बैशाख २०८१, बिहीबार
Follow Us

पहाडी जिल्लालाई विभाजन गर्ने प्रस्ताव मेरो होइन : प्रधानमन्त्री

नेपालब्रिटेन डट कम्
९ पुष २०७३, शनिबार १३:१३

रोल्पा । प्रधानमन्त्री पुष्पकमल दाहालले ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई विभाजन गर्ने प्रस्ताव आफ्नो नभएको दाबी गरेका छन् । प्रेस सेन्टर रोल्पाले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रस्तावलाई आफ्नो सरकारले परिमार्जन गरेर संसदमा दर्ता गरेको बताए ।
उनले तराई र पहाडका जनताको भावना समेट्नका लागि संविधान संशोधन प्रस्ताव ल्याएको दाबी गरे । प्रधानमन्त्री दाहालले संसदीय प्रणालीबाटै समस्याको समाधान खोज्नुपर्ने भएकाले सडक र संसदमा आन्दोलन नगर्न एमालेलाई आग्रह गरे ।
‘माओवादी केन्द्रकै नेताहरुले संशोधन प्रस्तावको विरोध गरिरहेका छन् नि ?’ भन्ने पत्रकारहरुको प्रश्नमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले नेताहरुले आफ्नो चुनाव क्षेत्र जोगाउनका लागि बोल्नु स्वभाविकै भएपनि पार्टीको निर्णय सबै नेताहरुले मान्नुपर्ने बताए । ‘गुरिल्ला ट्रेकिङ’को उद्घाटन तथा सहिदमार्ग सडक आयोजनाको अनुगमन गर्न प्रधानमन्त्री दाहाल रोल्पा आएका हुन् । शनिबारै आयोजनाको निरीक्षण गर्दै उनले सहिदमार्ग योजनाको काम द्रुतगतिमा गर्न निर्देशनसमेत दिए ।