११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रा. सूर्य प्रसाद सुवेदीको ग्रन्थ चीनमा लोकार्पण

नेपालब्रिटेन डट कम्
९ पुष २०७३, शनिबार १४:५३

चीनका विभिन्न प्रतिष्ठित विश्वविद्यालयहरुमा दुई हप्ताको प्रवचनका लागि आमन्त्रित प्रा. डा. सूर्य प्रसाद सुवेदीको चीन भ्रमणको क्रममा प्रा. सुवेदीको चिनियाँ भाषामा अनुवाद गरिएको अन्तर्राष्ट्रिय कानूनी ग्रन्थको एक समारोहका बीच चीनको राजधानी बेइजिङमा लोकार्पण गरियो । उक्त ग्रन्थ विमोचन गर्दै अन्तर्राष्ट्रिय अदालतकी न्यायाधीश श्रीमती हानचीन सुएले प्रा. सुवेदीको ग्रन्थले अन्तर्राष्ट्रिय कानूनको अध्ययन र अध्यापनमा एक मौलिक आयाम थपेको र चीनको आर्थिक विकासमा मद्दत पुग्ने बताइन् ।

प्रा. सुवेदीद्वरा लिखित बेलायतको अक्सफोर्डको हार्ट प्रकाशनद्वारा प्रकाशित ‘अन्तर्राष्ट्रिय वैदेशिक लगानी सम्बन्धी कानून र त्यसको अन्तर्राष्ट्रिय कानूनका अन्य विधाहरुसँगको अन्तरसम्बन्ध र समन्वय’ नामक उक्त ग्रन्थको चीनमा माग बढ्दै गएपछि चीनका अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक श्री झाङ ली ले दुई वर्षको मेहनत लगाएर उक्त ग्रन्थलाई चिनियाँ भाषामा अनुवाद गरेका थिए र चीनको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रकाशकले उक्त ग्रन्थ चिनियाँ भाषामा प्रकाशन गरेको थियो । उक्त संस्थाको आयोजनामा त्यसैको बेइजिङको सभाहलमा भएको एक समारोहमा चीनका विभिन्न प्राज्ञिक व्यक्तित्वहरुले आफ्ना मन्तव्य राखेका थिए र प्रा. सुवेदीले अन्तर्राष्ट्रिय वैदेशिक लगानी कानून र त्यसमा आएका परिवर्तनबारे आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।

प्रकाशकको तर्फबाट त्यसका अध्यक्ष श्री हुआङ मिनले प्रा. सुवेदीको ग्रन्थ अन्तर्राष्ट्रिय कानूनको एक उत्तम ग्रन्थ भएकोले आफ्नो संस्थाले प्रकाशन गर्न पाएकोमा प्रसन्नता व्यक्त गरेका थिए । उक्त ग्रन्थका अनुवादक प्रा. झाङ ली ले प्रा. सुवेदीका विचारहरुद्वारा आफू प्रभावित भई धेरै मेहनत गरी उक्त ग्रन्थ अनुवाद गरेको बताएका थिए । उक्त समारोहमा अन्तर्राष्ट्रिय अदालतकी न्यायाधीश श्रीमती हानचीन सुए, चीनका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु, उच्चपदस्थ सरकारी कर्मचारीहरु, कानून व्यवसायीहरु र अनुसन्धानकर्ताहरु सहभागी थिए । आफ्नी धर्मपत्नी श्रीमती कोकिला सुवेदीसहित चीन भ्रमणमा रहेका प्रा. सुवेदीले चीन सरकार, चीनका विश्वविद्यालयहरु र चीनका प्राज्ञिक मित्रहरुलाई आतिथ्य, स्वागत र सौहाद्र्रताका लागि धन्यवाद दिएका थिए ।