१२ बैशाख २०८१, बुधबार
Follow Us

बार्सिलोनाको पोस्टमा रोनाल्डोको २ गोल

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०७७, बुधबार ०७:४०

लन्डन । च्याम्पियन्स लिगको समूह जीको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको छ । युभेन्ट्सले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको जितमा रोनाल्डोले दुई गोल गरे । वेस्टन म्यानकेनीले एक गोल थपे ।

सन् २०१६ पछि समूह चरणमा बार्सिलोनाले पहिलो पटक हारेको हो । समूह जीमा युभेन्ट्स र बार्सिलोनाले समान १५ अंक बटुले । जितले युभेन्ट्सलाई समूहको शीर्ष स्थानमा राख्दै नकआउट चरण पुर्‍याएको छ । बार्सिलोना समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।

समूह एचको खेलमा आरबी लाईप्जीगसँग पराजित हुँदै म्यानचेष्टर युनाईटेड प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम तथा निर्णायक खेलमा लाईप्जीगले युनाईटेडलाई तीन दुई गोल अन्तरले हराएको हो ।

लाईप्जीगका एन्जिलोनी, अमदो हैदर र जस्टिनले एक–एक गोल गरे । युनाईटेडका ब्रुनो फर्नान्डेज, पाउल पोग्बाले एक–एक गोल गरे ।

समूह एचमा पीएसजी र इस्तानबुलको खेल १५ मिनेटमै स्थगित भएको छ । सहायक रेफ्रीले रंगभेदी टिप्पणी गरेको आरोप इस्तानबुलका खेलाडीले लगाउदै मैदान छाडेका हुन् । खेल रोकिएपछि पिएसजीले अब उक्त रेफ्रीलाई हटाएपछि मात्र खेल सुरु गर्ने इस्तानबुलको मागमा सहमति जनाएको छ ।

समूह ईको खेलमा चेल्सीले भने क्रास्नोडारसंग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ । क्रास्नोडारका रेबेला काबिला र चेल्सीका जोर्गिन्होले गोल गरे । चेल्सी यसअघिनै समूह विजेताको रुपमा नकआउट चरण पुगिसकेको छ ।

यही समूहमा सेभिल्लाले रेनसलाई तीन एकले पराजित गरेको छ । बोरुसिया डर्टमुण्ड समूह एफको शीर्ष स्थानमा रहदै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम खेलमा उसले सेन्ट पिटर्सवर्गलाई दुई–एकले हराएको हो ।

समूह ‘एफ’ को खेलमा बेल्जियमको क्लब ब्रुजसँग दुई–दुई गोलको बराबरी खेल्दै लाजियोपनि नकआउट चरणमा पुगेको छ । अन्तिम १६ को ड्र सोमबार सार्वजनिक हुँदैछ ।