१३ बैशाख २०८१, बिहीबार
Follow Us

च्याम्पियन्स लिग: रियल मड्रिड नकआउट चरणमा

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७७, बिहीबार ०४:२८

लन्डन । रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह बी अन्तर्गतको खेलमा बुधबार राति बोरुसिया मोन्चेनग्लाडवाचलाई २-० ले हराउँदै समूह विजेताका रुपमा रियल अन्तिम १६ मा पुगेको हो ।

रियलका लागि दुबै गोल करिम बेन्जिमाले गरे । समूह डी मा एटलान्टा पनि आयाक्समाथि १-० को जित निकाल्दै अन्तिम १६ मा पुगेको छ । उसका लागि लुइस मुरिएलले निर्णायक गोल गरे ।

यही समूहमा लिभरपुल पनि मिट्जेल्यान्डसँग एक–एक गोलको बराबरी खेल्दै नकआउट चरणमा पुगेको छ । लिभरपुलका मोहम्मद सलाह र मिट्जेल्यान्ड एलेक्जेन्डर स्कल्जले गोल गरे । बराबरीमा रोकिएको लिभरपुल १३ अंकसहित समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेको हो ।

समूह सी अन्तर्गत भएको खेलमा मार्सेइलीलाई तीन–शुन्य ले पराजित गरेको म्यानचेस्टर सिटी समूह विजेता बनेको छ । यस्तै ओलम्पिकासलाई २–० ले पराजित गरेको एफसी पोर्टो १३ अंकसहित दोस्रो स्थानमा रह्यो ।

बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । गएराति यसले बार्यनले लोकोमोटिभ मस्कोलाई २-० ले पराजित गरेको हो । आरबी साल्जबर्गलाई २-० ले पराजित गरेको एथ्लेटिको मड्रिड ९ अंकसहित समूह उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

त्यस्तै पिएसजी पनि समूह एचको समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । पिएसजीले स्थानबुल बासाक्सहिरलाई ५-१ ले पराजित गरेको हो ।