April 12, 2021
5:00 PM | 9:45 PM
अन्तर्वार्ता

विकासोन्मुख देशमा धनी–गरिबबीचको अन्तर बढ्दै गएको देखेँ

  12/12/2020 मा प्रकाशित


यात्राका क्रममा तपाईंले कुन देशमा पुगेकानेपाली सबैभन्दा खुसी र कुन देशमा पुगेका नेपाली सबैभन्दा दुःखी देख्नुभयो ?

पहिलो पुस्ताको प्रवासी समुदाय भएकाले विश्वका जुनसुकै कुनामा रहेका नेपालीहरू पनि संघर्ष गरेर भर्खरै स्थापित हुन प्रयास गरिरहेका छन् । आमरूपमा यो पहिलो पुस्ताको सबै डायस्पोराको भोगाइ हो । पहिलो पुस्ताका भारतीय, चिनियाँ डायस्पोराको कुरा गर्ने हो भने उनीहरूले अझ बढी संघर्ष गरेका थिए । भारतीयहरू त झन् अफ्रिका, क्यारेबियन आदि मुलुकमा श्रमिक मजदुरका रूपमा २०० वर्षअघि लगिएका हुन् । तुलनात्मक रूपमा अरू देशमा रहेको नेपाली समुदायभन्दा मलेसिया र खाडी मुलुकमा वैदेशिक रोजगारीमा रहेर काम गर्ने साथीहरूको जीवन कष्टकर छ ।

यात्रा गर्दै नयाँ ठाउँमा पुग्दा तपाईंलाई प्राकृतिक दृश्यले बढी आकर्षित गर्छ कि त्यहाँको इतिहास, समाज, संस्कृृति, राजनीतिजस्ता मानवीय सम्बन्धहरूले बढी आकर्षित गर्छ ?

यो ठाउँ हेरिकन हुन्छ । प्रत्येक ठाउँका फरक–फरक विशेषता छन् । अफ्रिकी जंगल सफारी रोमाञ्चक छ । त्यसैगरस् सेसेल्स द्वीपका समुद्री तटहरू पुग्दा फरक अनुभूति हुन्छ । रोम, एथेन्स, फ्लोरेन्स, भेनिस आदि प्राचीन सहरका वास्तुकला विशिष्ट छन् । आधुनिक सहरहरू पनि त्यत्तिकै आकर्षक छन् । यात्रा गरेका कुनै पनि ठाउँको कुरा गर्दा ज्या ! किन म यो ठाउँ घुम्न आएछु भन्ने मलाई कहिल्यै लागेको छैन ।

पुलिसहरूले हतियार नै नबोक्ने आइसल्यान्ड पुग्नुभयो । हतियारकै भरमा दुनियाँलाई काबुमा ल्याउन प्रयास गरिरहने देशहरू पनि पुग्नुभयो । तपाईंको अन्तस्करणले कुनचाहिँ देश उचित ठान्यो ?
युद्ध र ध्वंस भएको ठाउँमा पुग्दा मन विचलित हुनु स्वाभाविक हो । तर, त्यस्तो अवस्थाबाट गुज्रेका केही देशले अहिले गरेको चामत्कारिक विकास देख्दा छोटो समयमै देखिने गरी परिवर्तन सम्भव हुँदो रहेछ भन्ने लाग्छ । रुवान्डा, पूर्वयुगोस्लाभ गणराज्य आदि ठाउँ पुग्दा ती देशले द्वन्द्वपछि छिटै नै चामत्कारिक प्रगति गरेको देखियो ।

आइसल्यान्डका मानिसको आफ्नो नामको पछाडि कुनै थर नै नहुने तथ्य पनि तपाईंले यात्राको क्रममा थाहा पाउनुभयो । नेपालसहित दक्षिण एसियाली देशमा थर नै मुख्य जस्तो पनि बनिदिन्छ । आइसल्यान्ड र नेपालतिरको यस्तो परिस्थितिलाई तुलना गरेर हेर्दा तपाईंलाई कस्तो महसुस भयो ?
नामको पछाडि थर राख्ने चलन निकै पुरानो हो र यो संसारमा धेरै ठाउँमा चलनचल्तीमा छ । थर राखिनु स्वाभाविक पनि होला, किनकि यसमा आफ्ना बाबु–बाजे, पुर्खाको समेत सम्मान र आदरभाव झल्किन्छ । यस मामिलामा मलाई दक्षिण भारतीयहरूको चालचलन मनपर्छ, किनकि उनीहरूले आफ्ना बाबुबाजेको नाम आफ्नो पछाडि जोड्ने गर्छन् । नाम–थरबाटै जातीयता झल्किनु भने अभिशाप हो ।
मानिसका दुइटा मात्रै जात हुन्छन्– पुरुष र महिला । रुवान्डामा पनि पहिले थरबाटै हुतु र तुत्सी चिनिने प्रचलन थियो रे ! यो प्रथा त्यहाँ औपनिवेशिक कालमा बेल्जियन शासकले लागू गराएका रहेछन् । परिचय पत्रमा नै को हुतु र को तुत्सी हो भनेर छुट्याउनुपर्ने, कस्तो विडम्बना ! कालान्तरमा त्यही नै जातीय द्वन्द्व निम्त्याउने कारण बन्न पुग्यो । तर, पौल कगामे सत्तामा आएपछि त्यो प्रथा अहिले निषेध गरिएको रहेछ ।

तपाईं रुसमै उच्च शिक्षा लिनुभएको मान्छे । त्यहाँको साम्यवादी शासन पनि देख्नु–भोग्नुभयो । त्यतिवेलाको सोभियत शासन व्यवस्थालाई तपाईंले कसरी अनुभूत गर्नुभयो ?
सोभियत सत्ताका खराब पक्षबारे निकै चर्चा गर्न सकिन्छ । तर, निरपेक्ष रहेर भन्नुपर्दा त्यो पद्धतिका उज्याला पक्ष पनि धेरै थिए । मानिसहरू अनुशासित थिए, उच्च सामाजिक सद्भाव थियो । मानिस आफूलाई सुरक्षित महसुस गर्थे, आधारभूत कुराहरू राज्यले ग्यारेन्टी गथ्र्यो, नागरिकहरू देशप्रेमको भावनाले ओतप्रोत थिए । अपवादबाहेक आममानिसको जीवनशैली समान थियो । सामाजिक भेदभाव हुँदै नभएको होइन, तर त्यो निकै कम थियो । नागरिकहरूलाई हामीले दुःखजिलो गर्नुपरे पनि सन्ततिको भविष्य उज्ज्वल हुनेछ भन्ने सपना देखाइएको थियो र उनीहरू त्यस कुरामा विश्वास गर्थे । सार्वजनिक यातायातको राम्रो सुविधा थियो । राज्यले निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउँथ्यो ।

अफ्रिका, ल्याटिन अमेरिका र एसियाली मुलुकमा योखाडल बढ्दो छ । विकासोन्मुख देशमा धनी–गरिबबीचको अन्तर बढ्दै गए पनि केही पश्चिमा मुलुकहरू भने लोककल्याणकारी राज्य स्थापनातर्फ उन्मुख छन् । राज्यले शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाएको हुन्छ ।

नकारात्मक पक्ष पनि त्यत्तिकै थिए, एकतन्त्रीय शासन व्यवस्थामा विरोधीहरूलाई निर्मम तवरले दमन गरिन्थ्यो । मानिसहरूले आफ्नो क्षमताअनुसार राज्यबाट कदर नभएको अनुभूति गर्थे, विशेषगरी विद्वत्वर्गमा आफ्नो उचित कदर नभएको गुनासो थियो । केन्द्रीय तहमा मात्रै नभएर जिल्ला, नगर र ग्रामीण तहमा समेत सोभियत कम्युनिस्ट पार्टीमा आबद्ध मानसिहरूले विशेष सुविधा उपयोग गर्ने हुनाले आममानिस असन्तुष्ट थिए ।

विकसित मुलुकमा आधारभूत मानिने सामग्रीहरू सोभियत संघमा बिलासिताका सामग्रीका रूपमा गणना हुन्थे । साम्यवादी व्यवस्थाको उत्तरार्धतिर आइपुग्दा दैनिक उपभोगका यावत् सामग्रीको गाउँ–सहर सबैतिर अभाव देखियो । व्यक्तित्व विकासमा राज्यले ध्यान दिएन भन्ने गुनासो थियो । मानिसको दैनिक जीवन मोनोटोनस थियो ।


तपाईंले पहिलोपटक यात्रा गर्दाको चीन र पछिल्लोपटक यात्रा गर्दाको चीनबीच के भिन्नता पाउनुभयो ?

धेरै नै भिन्नता देखियो ! चीनले पछिल्लो ३० वर्षमा आर्थिक रूपमा ठूलो फड्को मारेको छ । साम्यवादी व्यवस्था भनिए पनि उदार अर्थतन्त्र र पुँजीवादी व्यवस्थाका सबै गुणहरूलाई अवलम्बन गर्दै चीन आर्थिक रूपले महाशक्ति राष्ट्र बन्ने तीव्र दौडमा छ । राज्यले व्यापारीहरूलाई विदेशमा लगानी बढाउन उत्प्रेरित गरिरहेको छ । राज्य आफैँ पनि आक्रामक रूपमा लगानी विस्तार गर्दै छ । धेरै अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका छन्, चीन केही वर्षभित्रै आर्थिक रूपमा विश्वमा पहिलो स्थानमा हुनेछ ।


विकासको नाममा मानिसले प्रकृतिको दोहन गर्‍यो, पर्यावरण विनाश गर्‍यो भनिरहेका छन् । पर्यावरण संरक्षण गर्ने र दिगो पर्यटनबारे विश्वका आममानिस कति सचेत रहेछन् ? तपाईंको यात्रा अनुभूतिले के भन्छ ?

पर्यावरण संरक्षणका मामिलामा धेरै देशहरू अहिले सचेत हुँदै गएको देखियो । पर्यावरण संरक्षणविना दिगो आर्थिक विकास सम्भव हुँदैन भन्ने तिनले बुझ्दै गएका छन् । मरुभूमिमा पनि रुख रोपेर हराभरा बनाउँदै गएको देखियो । चरम औद्योगिकीकरणले प्रदूषण नियन्त्रण गर्न कठिन हुँदै गएको छ । राष्ट्रिय निकुञ्जहरू स्थापना भएका छन् र वन्यजन्तुको संरक्षणमा नागरिकमा सचेतना बढेको छ । अफ्रिकी जंगलहरूमा सिकार गरेर जीविकोपार्जन गर्ने ट्राईबहरूसमेत अहिले जनावरहरू मार्नु हुँदैन भन्नेमा सचेत भएका छन् । दिगो पर्यटन प्रवद्र्धन गर्ने मामिलामा स्लोभेनिया, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे, केन्या आदि देशले उदाहरणीय काम गरेका छन् । ग्रिन टुरिज्ममा एसियाको अर्को देश भुटानको नाम पनि अग्रपंक्तिमा आउँछ ।

समाजमा वर्गान्तर एउटा महत्वपूर्ण एजेन्डा बनिरहेकै छ । एकातिर तीव्र विकास हुँदै जाँदा अर्कोतिर तीव्र गरिबीको खाडल पनि निर्माण हुन्छ भनेर पुँजीवादको आलोचना गर्नेहरूले निकै अघिदेखि भनिरहेकै छन् । संसारको कुना–कुना तपाईंले पटक–पटक यात्रा गर्दा आममानिसहरू क्रमशः सम्पन्न र खुसी हुँदै गएको देख्नुभयो कि झन्–झन् दुःखी र गरिब हुँदै गएको देख्नुभयो ?
अफ्रिका, ल्याटिन अमेरिका र एसियाली मुलुकमा यो खाडल बढ्दो छ । विकासोन्मुख देशमा धनी–गरिबबीचको अन्तर बढ्दै गए पनि केही पश्चिमा मुलुकहरू भने लोककल्याणकारी राज्य स्थापनातर्फ उन्मुख छन् । राज्यले शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाएको हुन्छ । रोजगारी नभएकाहरूलाई बेरोजगार भत्ता दिने प्रावधान छ । बच्चा जन्मेको दिनदेखि नै उसको भरण–पोषण गर्नुलाई राज्यले आफ्नो कर्तव्य सम्झन्छ । अस्ट्रेलिया, क्यानडा, बेलायत, जर्मनी, फ्रान्स, नोर्डिक देशहरू यस मामिलामा अग्रपंक्तिमा छन् ।

– उद्यमी तथा गैरआवासीय नेपालीसंघ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेसँग नयाँ पत्रिकाको लागि राजु स्याङ्तानले गरेको ट्राभल टक

प्रतिक्रिया