८ बैशाख २०८१, शनिबार
Follow Us

गौहत्याका विरोधमा बन्द

नेपालब्रिटेन डट कम्
१० पुष २०७३, आईतवार ०७:४२

धनगढी । कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौहत्या गरिएको भन्दै विरोधस्वरुप आज गरिएको सुदूरपश्चिम बन्दले यहाँको जनजीवन कष्टकर बनेको छ ।

हिन्दूवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ । बन्दकर्ताले गौहत्यामा संलग्न हुनेको खोजी गरी कडा कारबाहीको माग गर्दै धनगढी, अत्तरियालगायत क्षेत्रमा प्रदर्शन समेत गरेका छन् ।

धनगढी–डडेलधुरा सडक अन्तर्गत चुरे पहाडमा पर्ने भ्यागुते सडकखण्ड आसपासमा पाँच दिनअघि मरेका गाईगोरु फेला परेका थिए । कञ्चनपुरको वेदकोट नगरपालिका क्षेत्रमा रहेका छाडा गाईगोरुलाई राति ट्रकमा राखेर भ्यागुते सडकखण्डमा पु¥याएर छाडिएको बताइएको छ । यी चौपाया आफैँ मरेका हुन् वा कसैले मारेको हो भन्ने विषयमा भने पुष्टि हुन सकेको छैन ।

घटनाका सम्बन्धमा चौपाया ढुवानी गरी भ्यागुतेसम्म पु¥याउने ट्रकका चालकसँग सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै नगरपालिकाका कार्यकारी अधिकृतलाई पनि स्थानीय प्रशासनले सोधपुछ गरेको छ । दुर्गन्ध नफैलियोस् भनेर मरेका चौपायालाई खाल्डो खनेर पुरिएको छ ।