१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनले मोबाइल ब्लड बस हस्तान्तरण गर्दै

नेपालब्रिटेन डट कम्
३० मंसिर २०७७, मंगलवार १८:०३

लण्डन । गैर आवासीय नेपाली संघले आगामी शुक्रबार ‘एनआरएनए मोबाइल ब्लड बस’ हस्तान्तरण गर्ने भएको छ । गैर आवासीय नेपाली संघका सचिव एव एनआरएनए ब्लड बस परियोजनाका संयोजक गौरीराज जोशीको पहलमा शूरु गरिएको सो प्रोजेक्ट आगामी पुष ३ गते हस्तान्तरण गरिन लागिएको हो ।

गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार बस आगामी पुष ३ गते हस्तान्तरण गर्ने कार्यक्रम तय भएको जानकारी गराउनुभयो ।

नेपाल रेडक्रस सोसईटी चितवनसंग सहकार्य गरि मौसम प्रतिकुलताको बेलामा पनि रगत संकलन गर्नको लागि “घुम्ती रगत बस परियोजना” संचालन गरिएको हो । यसले रगतको संकलन तथा भण्डारणमा सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्व सुलभ बनाउन मद्दत पुग्नेछ ।

गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको संयोजकत्वमा परियोजना सञ्चालन गरिएको हो । यो परियोजनामा विश्वभरिका गैर आवासीय नेपालीहरुले सहयोग गर्नुभएको छ ।

नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखा अन्तर्गत क्षेत्रिय रक्तसंचार सेवा चितवनले स्थापना काल देखि नै बिरामीहरुलाई सेवा पुर्याउदै आएको छ । नेपालमा एक उपचार केन्द्रको रुपमा स्थापित चितवनमा विभिन्न खालका बिरामीहरुलाई रगत उप्लब्ध गराई सेवा दिने कार्य क्षेत्रिय रक्तसंचार सेवा चितवनले गरेको छ ।

हाल, रगतको माग बढे पनि आपूर्ति बढेको छैन । धेरै गर्मी र धेरै चिसोको बेलामा रक्तदान घट्ने गरेको छ । जसले गर्दा रगत नभई नहुने थालासेमिया, हेमोफिलिया, किड्नी रोगी, हृदय रोग र रक्तक्यान्सर रोगीका लागि झन समस्या हुने र रगत नपाएर काठमाडौँ गई रक्तसंचार सेवा लिनु पर्ने अवस्था छ ।

नेपाल बाहिर रहेर पनि आफ्नो देशप्रतिको जिम्मेवारी पुरा गर्न धेरै गैर आवासीय नेपालीहरुले नेपालमा आर्थिक श्रोत तथा प्राविधिक ज्ञान र सिपको लगानी गरेका छन् ।

“नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैर आवासीय नेपाली संघले रक्तसंचार पद्धति कार्यदल स्थापना गरेको छ । यस कार्यदलले नेपालमा रगत सेवालाई गुणस्तरीय र सर्व सुलभ बनाउनको लागि रक्तसंचार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु संचालन गरेको हो ।