८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा कोरोना भाइरसले नयाँ रूप लियो

नेपालब्रिटेन डट कम्
३० मंसिर २०७७, मंगलवार १८:०९

एजेन्सी। बेलायतका केही क्षेत्रमा कोरोना भाइरसको नयाँ रूप देखापरेको छ र जुन तेज गतिमा फैलिरहेको छ।

त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार कम्तीमा ६० स्थानीय प्रशासनले नयाँ प्रकारको कोरोना संक्रमणका घटना फेला पारेका छन्।

उनले भनेका छन्, ‘विश्व स्वास्थ्य संगठनले यसको सूचना लिएको छ भने बेलायतका वैज्ञानिकले विस्तृत अध्ययन थालेका छन्।’

मन्त्रीका अनुसार यो रोग बिग्रिन सक्ने र खोपले पनि काम नगर्ने सम्भावना छ।

बिबिसीका अनुसार उनले सदनलाई गत हप्ता लन्डन, केन्ट, एसेक्स र हर्टफोर्डसायरका क्षेत्रमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको जानकारी गराएका छन्।

स्वास्थ्यमन्त्री ह्यान्कले भने, ‘हामीले यस (नयाँ) किसिमको भाइरसले संक्रमण गरेको हजारभन्दा बढी केस प्राप्त गरेका छौं, जुन विशेष गरी इंगल्यान्डको दक्षिणी भेगमा पाइएको छ। यी घटना फरक फरक ६० स्थानीय प्रशानसमा देखिएका हुन्।’

चिन्ता व्यक्त गर्दै उनले अगाडि भनेका छन्, ‘यस कारण यस विषयमा हामीले चाँडै निर्णायक कदम चाल्न जरुरी छ, यो घातक रोग नियन्त्रण गर्न आवश्यक छ, खोप दिइरहेको भए पनि।’

सबैभन्दा कठोर लकडाउन

नयाँ रूपको कोराना भाइरसको संक्रमण बढ्न थालेपछि इङ्ग्यालन्डमा अहिलेसम्मकै कडा लकडाउन घोषणा गरिएको छ। लन्डन, खासगरी एसेक्स र हर्टफोर्डसायरका केही क्षेत्रमा बुधबारदेखि नयाँ नियम लागू गरिँदै छ।