१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मलेसियाको एक कम्पनीमा ५ हजार भन्दा बढी कोरोनाबाट संक्रमित, नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
१ पुष २०७७, बुधबार ००:२३

लण्डन । हजारौं प्रवासी कामदारहरु कार्यरत रहेको मलेसियाको टप ग्लोभ कम्पनीमा सबैभन्दा ठूलो संख्या नेपाली कामदारको छ । ४० भन्दा धेरै कारखाना संचालन गर्ने यो कम्पनी मेडिकल पञ्जा उत्पादन गर्ने विश्वकै सबभन्दा ठूलो कम्पनी हो । गएको मे महिनामा यहाँ कोरोनाभाइरस महामारी ठूलो परिमाणमा फैलिनुअघि यहाँको उच्च जोखिमयुक्त अवस्थाबारे यहाँ काम गर्ने एक कामदारले विश्वलाई सचेत पार्न खोजेका थिए । युवराज खड्का नामका ती कामदार नेपाली थिए ।

कारखानामा काम गर्ने हजारौं कामदारलाई संक्रमणबाट बचाउने प्रयास गर्दा युवराज खड्कालाई कम्पनीले जागिरबाट निकालिदिएको समाचार एजेन्सी रोयटर्सले खुलासा गरेको छ । एजेन्सीका अनुसार खड्काले सहकर्मी कामदारहरुले अत्यन्तै भीडभाडयुक्त स्थितिमा ठूलो जोखिममा काम गरिरहेका २ तस्वीर खिचेका थिए । रोयटर्सले आफूले ती फोटो देखेको बताउँदै फोटोमा कामदारहरु आफ्नो तापक्रम जँचाउन लाइनमा उभिएको र लाइनमा उनीहरुबीच दूरी १ मिटरभन्दा पनि कम भएको बताएको छ । उनीहरु रातको शिफ्ट सुरु गर्नुभन्दा अघि लाइनमा उभिएका थिए ।

खड्का र अन्य ५ जना कामदारले रोयटर्सलाई बताएअनुसार कम्पनीमा मास्क र पञ्जा अनिवार्य थियो तर दूरी कायम गर्नु अनिवार्य थिएन । सिधै कम्पनीको व्यवस्थापनसँग यस विषयमा कुरा गर्दा आफूले जागिर गुमाउनुपर्ने डरले उनले ती फोटोहरु आफ्नो देश नेपालको एक अधिकारकर्मी संस्थालाई पठाएका थिए । नेपालको अधिकारवादी संस्थाले तस्वीर कसले खिचेको हो भन्ने कुरा गोप्य राखी कम्पनी र मलेसिया सरकारलाई ती तस्वीरहरु पठाएको थियो ।

सेप्टेम्बर २३ मा टप ग्लोभले खड्कालाई त्यही फोटो सार्वजनिक गरेकोमा उनलाई जागिरबाट निकालिएको पत्र पठायो । रोयटर्सले देखेको त्यो पत्रमा कम्पनीले फोटो सुरुवातमा सीसीटिभी कभरेजबाट निकाल्ने व्यक्तिको रुपमा उनको पहिचान गरेको उल्लेख छ । झण्डै तीन महिनासम्म क्लाङमा रहेको टप ग्लोभका कारखाना र भण्डारस्थल मलेसियाको सबैभन्दा ठूलो संक्रमित क्षेत्र बने जहाँ ५ हजारभन्दा धेरै संक्रमित भएका थिए र उनीहरुमध्ये ९४ प्रतिशत विदेशी भएको मलवेसियाको स्वास्थ्य मन्त्रालयले डिसेम्बर १ मा बतायो ।

टप ग्लोभले त्यतिबेला संक्रमितको संख्या बताएको थिएन । गएको बुधबार उसले कूल ५ हजार १४७ जना कामदार संक्रमित भएको खुलासा गरेको छ । नोभेम्बर २३ मा मलेसिया सरकारले कामदारहरुको परीक्षण गर्नका लागि टप ग्लोभलाई आफ्ना कारखानाहरु क्रमबद्ध रुपमा बन्द गर्न आदेश दिएको थियो । डिसेम्बरको सुरुवातमा मलेसिया सरकारको श्रम विभागले टप ग्लोभलाई कामदारको आवास राम्रोसँग व्यवस्थापन गर्न नसकेकोमा कारवाही गर्ने बताएको थियो । ‘त्यहाँ एक मिटर पनि दूरी थिएन जुन म देखाउन चाहन्थें’ खड्काले नेपालबाटै रोयटर्ससँग भने । उनी नेपालमा अहिले कामको खोजीमा छन् ।

जागिरबाट निकालिएपछि उनी आफ्नै खर्चमा नेपाल फर्किए जसको लागि उनले विमान भाडा ४ सय डलर (४७ हजार रुपैयाँ) र कोरोना परीक्षणका लागि ७० डलर (८ हजार रुपैयाँ) तिरे । बुधबार टप ग्लभले एक विज्ञप्ति जारी गर्दै कसैको पनि मृत्यु नभएको र संक्रमित कामदारहरु स्वस्थ भएर काममा फर्किन तयार भएको दावी गरेको छ । कम्पनीले खड्कासँगको कुरा सौहार्दपूर्ण तरिकाले मिलाएको बतायो तर यस विषयमा थप प्रतिक्रिया दिन अस्वीकार गर्यो ।