८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन यूकेको मुखपत्र सोमबार बिमोचन हुने

नेपालब्रिटेन डट कम्
१० पुष २०७३, आईतवार १७:३६

 

गैर-आवासीय नेपाली संघ यूकेले आफ्नो बार्षिक स्मारिका डिसेम्बर २६ सोमवारका दिन अल्डर्शटमा हुन गइरहेको नेपाल हाउस च्यारिटी डिनर – २ मा सार्बजनिक गर्ने भएको छ । ‘एनआरएन भ्वाइस’ नामले प्रकाशन गर्न लागिएको सर्वप्रतिक्षित बार्षिक पत्रिका क्रिसमस र नयाँबर्ष २०१७ को अवसर पारेर बिमोचन गर्न लागिएको हो । एनआरएन यूकेले यसभन्दा पूर्व २०१३ मा ‘एनआरएन पत्र’ नामको एक न्युज लेटर प्रकाशमा ल्याएको थियो । संघले पहिलेदेखि गर्दैआएको प्रकाशनका गतिविधिहरुलाई निरन्तरता दिने क्रममा प्रकाशन हुन लागेको ‘एनआरएन भ्वाइस’ एनआरएन यूकेको आजसम्मकै सबैभन्दा समाबेशी, गहन र लोकप्रिय हुने कुरामा आफू र आफ्ना कार्यसमितिका साथीहरु ढुक्क रहेको कुरा संघको प्रकाशन तथा प्रचारप्रसार बिभागका संयोजक खुशी लिम्बुले बताए ।

झण्डै चालिस वटा जति पठनीय सामग्रीहरु भएको स्मारिकामा बिभिन्न शीर्षक अन्तर्गतका लेखहरु प्रकाशित छन् । तिमध्ये एनआरएन अभियान अन्तर्गत राम प्रताप थापा, कुमार पन्त, डा. हेम राज शर्मा, डा. प्रमोद ढकाल, डा. कृष्ण उपाध्याय, फडिन्द्र भट्टराई र चिरन शर्माले आफ्ना लेखहरु प्रस्तुत गरेका छन् भने गोर्खा आन्दोलनको बारेमा डा. सी. बी. गुरुङ, डा. राम नारायण कन्दङ्वा, डा. चन्द्र लक्सम्बा र नरेश काङमाङका लेखहरु निकै नै सन्देशमुलक छन् । त्यस्तैगरी पर्यटन र बिदेशी लगानीका सन्दर्भमा पशुपति भण्डारी, भबन भट्ट, राजेन कँडेल र सन्तोष कार्कीका चेतनामुलक लेखहरु प्रकाशित छन् ।

समसामयिक बिषयहरुमा भने सुमाया राई, डा. बच्चु कैलाश कैनी, बिकल चन्द्र आचार्य, संगिता मरहट्ठा र फेमिना फरानीका लेखहरु समाबेश छन् भने दोहोरो नागरिकताको सवालमा गोविन्द बेल्बासे, सुरेन्द्र नेपाल श्रेष्ठ र बाचस्पती रेग्मीका लेखहरु पढ्नै पर्ने खालका छन् ।

नयाँ पुस्ताका विचार र आवाजहरुलाई पनि सम्बोधन गर्ने प्रयासस्वरुप मञ्जू भण्डारी, टेक सिंखडा, हरी आचार्य र चाँदनी ढकालका लेखहरु समाबेश गरिएका छन् । बौद्धिक तथा खोजअनुसन्धानमुलक लेखहरुमा खुशी लिम्बू, डा. कृष्ण अधिकारी, लोकेन्द्र पुरुष ढकाल र प्रोफेसर डेभिड गेलनरका लेखहरु पढ्न पाइनेछ ।

स्मारिकामा एनआरएनए यूकेका अध्यक्ष, महासचिब, उपमहासचिब र प्रवक्ताले संघको गतिविधिहरुका बारेमा प्रकाश पारेका छन् भने चालु नेपाल हाउस परियोजनाका सन्दर्भमा योग फगामी, राजेश पाठक र विस्वास दीप तिगेलले निकै मसी खर्च गरेका छन् ।

पत्रिका अंग्रेजी र नेपाली मिश्रित दोभाषे प्रकृतिको छ । स्मारिकाको स्तरियतालाई कायम राख्न र बढी सूचनामुलक बनाउन कमभन्दा कम बिज्ञापनहरु राखिएको हुनाले पत्रिकाको लागत उठाउन
सहयोग शुल्क पाँच पाउण्ड राखिएको कुरा पत्रिकाका प्रधान सम्पादक खुशी लिम्बूले बताए । उनका अनुसार नेपाल हाउस च्यारिटी डिनरमा पाल्ने पत्रिकाका सम्पुर्ण बिज्ञापनदाताहरु र लेखकहरुलाई धन्यवाद स्वरुप एनआरएन भ्वाइस निशुल्क प्रदान गरिने छ ।