७ बैशाख २०८१, शुक्रबार
Follow Us

एकै क्लबबाट धेरै गोल गर्ने पेलेको कीर्तिमानसँग मेस्सीको बराबरी

नेपालब्रिटेन संवाददाता
५ पुष २०७७, आईतवार ०३:४६

लन्डन । बार्सिलोनाका स्टार खेलाडी मेस्सीले एकै क्लबबाट धेरै गोल गर्ने ब्राजिली लिजेण्ड पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् । मेस्सीले एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

शनिबार राति भ्यालेन्सियासँग दुई–दुई गोलको बराबरी खेल्दा मेस्सीले बार्सिलोनाबाट एक गोल गरेका थिए । उनले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । पेलेले सन १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिली क्लब सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए ।

बार्सिलोनका लागि रोनाल्ड अरुजोले एक गोल थपे । भ्यालेन्सियाका दिखाबी र गोमेजले एक–एक गोल गरे । बार्सिलोना २१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । भ्यालेन्सिया १५ अंक सहित १२ औं स्थानमा छ ।

शनिबार राति नै भएको अर्को खेलमा शिर्ष स्थानको एथ्लेटिको मड्रिडले इल्चेलाई तीन–एक गोल अन्तरले पराजित गरेको छ । एथ्लेटिकोका लागि लुइस स्वारेजले दुई र डिएगो कोस्टाले एक गोल गरे । इल्चेका लागि बोयले एक गोल फर्काए । जितपछि शीर्ष स्थानको एथ्लेटिकोको १२ खेलबाट २९ अंक भएको छ ।

शनिबार राति नै भएका अन्य खेलमा रियल सोसिडाड लेभेन्टेसँग दुई एक गोल अन्तरले पराजित भएको छ । भिल्ला रियलले ओसासुनालाई तीन–एकले हराएको छ । सेभिल्ला र रियल भालाडोलिडले एक एक गोलको बराबरी खेलेका छन् ।