१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतबाट भारत गएका ८ यात्रुमा कोरोना संक्रमण, उडान रोकियो

नेपालब्रिटेन डट कम्
७ पुष २०७७, मंगलवार २१:२१

लण्डन । बेलायतमा नयाँ स्वरूपमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको भनेर विश्वभर चिन्ता भइरहेका बेला त्यहाँबाट भारत फर्किएका ८ यात्रुमा संक्रमण देखिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बेलायतको लन्डनबाट एयर इन्डियाको उडानबाट सोमबार राति भारतको राजधानी दिल्ली आइपुगेका ६ जनामा कोरोना पोजिटिभ पाइएको हो।

सबै यात्रुको पीसीआर परीक्षण गर्ने क्रममा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको बिबिसी हिन्दीले जनाएको छ।

यसैगरी आज बिहान पनि लन्डनबाट एक जहाज भारत अवतरण गरेको छ। त्यसमा आएका यात्रुको पनि कोरोना परीक्षण गरिने जेनेस्ट्रिङ्ग्स डायग्नस्टिक सेन्टरका संस्थापक डाक्टर गौरी अग्रवालले जानकारी दिएका छन्।

उनले न्युज एजेन्सी पिटिआईसँग भनेका छन्, ‘अहिलेसम्म करिब सय जनाको परीक्षण गरिसकिएको छ। कसैमा कोरोना पोजिटिभ देखिएको छैन।’

यस्तै बेलायतबाट हवाई यात्रामार्फत कोलकाता आइपुगेका २ यात्रुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

बेलायतमा नयाँ रूप लिँदै कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि विश्वभर चिन्ता बढेको छ। यसैलाई विचार गरेर भारतले आज रातिदेखि ३१ तारिखसम्मका लागि बेलायत उडानमा प्रतिबन्ध लगाएको छ।