१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनएको सहयोगमा कम्बोडियामा बिचल्ली परेका २२ नेपाली स्वदेश फिर्ता

नेपालब्रिटेन डट कम्
८ पुष २०७७, बुधबार १५:३९

लण्डन । कम्बोडियामा वैदेशिक रोजगारका लागि पुगेका २२ नेपाली बिचल्ली परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उद्धार गरेर स्वदेश फर्काएको छ ।

दलालले विभिन्न प्रलोभनमा पारेर कम्बोडिया पुगेका नेपालीहरुको भिसा नहुँदा झण्डै ८ महिनादेखि बिचल्लीमा पर्दैै आएका थिए । कन्ट्रक्शनको काम गर्न ३ देखि ६ लाख रुपैयासम्म दलाललाई तिरेर कम्बोडिया पुगेका नेपालीहरु बिचल्ली परेपछि एनआरएनले केही महिनादेखि खाना, बस्न र हवाई टिकट उपलब्ध गराएर बुधबार स्वदेश फर्काउन सफल भएको हो ।

कम्बोडियासमेत हेर्ने नेपाली दूतावास थाइल्याण्ड र एनआरएनएका आइसीसी उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा संचालन भइरहेको ‘एनआरएनए कोभिड–१९ राहत तथा उद्धार कार्यक्रम’ले २२ नेपालीलाई स्वदेश फर्काएको हो ।

कम्बोडियाको फोनम पेन शहरमा बिचल्लीमा परेपछि उनीहरुले नेपाली दूतावास थाइल्याण्ड तथा अन्यसंघसंस्थालाई उद्धारका लागि गुहारेका थिए ।

‘हामी सबैजनालाई आफन्तमार्फत गिरोहले फसाए’ झापाका रिनोज बस्नेतले भने–‘एकलाख २० हजार पारिश्रमिक हुन्छ भनेर ३ लाखदेखि ६ लाखसम्म तिरेर कम्बोडिया पुगियो, आखिर केही पाइएन ।’

२२ जना नेपालीलाई धनकुटाका हरि कुमार राई र कम्बोडिया बस्ने उनका भाई सागर राईले फसाएको पीडित युवाहरुको भनाई छ । ‘हामीले कम्बोडियामा नै सागर राईलाई पक्राउ परेका थियौं तर प्रहरीले छोडिदियो’ बस्नेतले भने–‘त्यसपछि त हामी झन बिचल्ली प¥यौं, डरायौं पनि ।’

‘रोजगारी गर्दासमेत पारिश्रमिक एक पैसा नपाएपछि हामी फर्किन चाहेका थियौं तर भिसा अवधि सकिएपछि ओभर स्टे हुँदा फर्कन सकेनौं’ मोरङका शेरबहादुर खड्काले भने–‘ हामीलाई नेपाली दूतावास थाइल्याण्डले सहयोग गर्नुको सट्टा टिकट काट्न लगाएर फर्काउन सकेन ।’

दूतावासको निर्देशन अनुसार उनीहरुले गत २० अक्टोबरमा स्वदेश फर्कन आफ्नै पैसाबाट टिकट काटेका थिए तर उनीहरुलाई ओभर स्टे भन्दै कम्बोडिया इमिग्रेशनले फर्काएको थियो । ‘इमिग्रेशनबाट फर्किएपछि हामी झन बिचल्लीमा परियौं’ झापाकै दिपेन अधिकारीले भने–‘ त्यसपछि हामीलाई एनआरएनले खाना र बस्नका लागि सहयोग ग¥यो आज स्वदेश पनि फर्काउन सक्यो ।’

त्रिभुवन विमानस्थलमा फर्किएका नेपालीलाई स्वागत गर्न पुगेका एनआरएनए कोभिड–१९ राहत तथा उद्धार कार्यक्रमका मेनेजर राजेन्द्रकुमार राउतले कम्बोडियामा समस्यामा परेका नेपालीलाई त्यहाँ खानबस्नदेखि नेपाल ल्याउदासम्म एनआरएनले सहयोग गरेको बताए ।

एनआरएनले नेपाल फर्किएका युवाहरुलाई विमानस्थलमा नै खाना खुवाएर घरसम्म पु¥याउने व्यवस्था मिलाएको छ । ‘ ८ महिनापछि बल्ल पेटभरी नेपाली खाना खान पाइयो’ खुशी हुँदै प्रकाश बस्नेतले बताए ।

एनआरएनका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. केसीले नेपाली दूतावास थाइल्याण्ड र एनआरएन एनसीसी कम्बोडियाको सहकार्यमा २२ जनालाई स्वदेश फर्काउन सकेको बताए ।

एनआरएनले अहिलेसम्म झण्डै ६ हजार जनालाई प्रत्यक्ष सहयोग गरिसकेको तथा भोलिका दिनमा पनि गर्ने डा. केसीले जानकारी दिए । उनले भने –‘भोलिका दिनमा पनि यसरी समस्यामा परेका नेपाली श्रमिकलाई उद्धार गरेर स्वदेश ल्याउने काम जारी नै राख्ने छौ, यदी कोभिडका कारण कुनै समस्या भएमा या घरफिर्तिका लागि सहयोग आवश्यक भएमा एनआरएन एनसीसी तथा हामीसँग सम्पर्कका लागि अनुरोध गर्दछौ ।’


एनआरएनले कम्बोडियाबाट उद्धार गरेका नेपाली

१. लाल बहादुर थापामगर
२. मेहेरमान तामाङ
३. मिलन श्रेष्ठ
४. चन्दन सरदार
५. सन्तोष राई
६.पदम कुमार राई
७. मनिकुमार राई
८. इश्वरी प्रसाद पौडेल
९. मोतिलाल मगर
१०. डम्बर बहादुर मगर
११. हेम कर्ण लिम्बु
१२. सुर्य बहादुर खत्री
१३. डिल्ली प्रसाद खत्री
१४. शेर बहादुर खड्का
१५. नन्द बहादुर बुढाथोकी
१६. रमेश कुमार भुजेल
१७. नारायण भण्डारी
१८. रिनोज बस्नेत
१९. प्रकाश बस्नेत
२०. नारायण बहादुर अधिकारी
२१. दिपेन अधिकारी
२२. विपिन अधिकारी