१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनील शाहको नेतृत्वमा रहेको एनआरएनए अमेरिका खारेज हुने

नेपालब्रिटेन डट कम्
९ पुष २०७७, बिहीबार २२:०५

लण्डन । गैरआवासीय नेपाली संघले अमेरिका राष्ट्रिय समितिलाई दिएको सम्बन्धन खारेज गर्ने तयारी गरेको छ । गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाह समूहले केन्द्रले तयार गरेको एमआईएस (मेम्बर इन्फरमेसन सिस्टम) को प्रयोग नगरि आफ्नै वेवसाइट मार्फत एक पक्षीय रुपमा सदस्यता वितरणलाई तिब्रता दिए पछि एनआरएनए अमेरिका खारेजीमा पर्न लागेको हो ।

गैरआवासीय नेपाली संघको अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठीले संघले दिएको निर्देशनलाई उल्लंघन गर्ने अधिकार कसैलाई नभएको बताए ।

उनले संघले दिएको निर्देशनलाई पूर्ण रुपमा पालना गर्न आफु तयार रहेको जनाए । त्रिपाठीले संघको विधी र प्रकृयालाई नमान्ने जुन सुकै राष्ट्रिय समिति पनि कारवाहीमा पर्न सक्ने बताए ।
त्रिपाठीले गैरआवासीय नेपाली संघमा अहिले पुनर्रसंरचनाको व्यापक बहस भैरहेको बेला एनआरएनए अमेरिकाले एकलौटी रुपमा सदस्यता वितरण गर्नु विधान विपरीत भएको बताए ।

यसअघि संघका अध्यक्ष सुनिल शाह र संघका केन्द्रीय पदाधिकार बीच पटकपटक छलफल भए पनि शाहले केन्द्रको निर्देशनको विपरित विहीवार पन्जिकृत सदस्यता वितरणको लागि सार्वजनिक सूचना जारी गरे पछि विवादले नयाँ रुप लिएको हो ।

गैरआवासीय नेपाली संघका सचिव गौरीराज जोशीले एनआरएनए अमेरिकाको सदस्यता वितरण सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरे पनि संघको केन्द्रीय सिस्टममा आउनुको विकल्प नभएको जनाए ।

‘उहाँहरुसंग पटकपटक छलफल भएको छ । एनआरएनए अमेरिकाले एनआईएसको लिखित रुपमा सोधेका प्रश्नहरुको समेत आइसीसीले दिईसको छ त्यसै संघको केन्द्रीय सिस्टम (एमआईएस) बाट मात्र सदस्यता वितरण हुने हो त्यसमा भ्रममा नपर्न आग्रह गर्दछु’ जोशीले नेपालब्रिटेन डट कमलाई बताए ।

एक एनआरएनए पदाधिकारीका अनुसार सुनील शाह समूहले संघको केन्द्रीय नेतृत्वले केही गर्न सक्दैन् हामी अमेरिकाको विधी र विधान अनुरुप चल्छौ भन्दै अमेरिकास्थित नेपाली कांग्रेसको एक गुटलाई सदस्यता वितरण गरेका छन् ।

एनआरएनए अमेरिकाका यसअघिका कार्यसमितिहरुले समेत पटकपटक केन्द्रीय निर्देशनको उल्लंघन गरेर विवादमा आएका थिए ।

कतिपय गैरआवासीय नेपालीहरुले एनआरएनए अमेरिकामा हुने सधैंको विवादका कारण विश्वभर रहेका अन्य देशमा समेत प्रभाव परेको भन्दै राष्ट्रिय समितिनै खारेज हुनु पर्नेमा जोड दिएका छन् ।
के छ आइसीसी नियमावली तथा विधानमा



अध्यक्ष सुनील शाहद्धारा जारी गरिएको सदस्यता सम्बन्धी सार्वजनिक सूचना

आदरणीय अमेरकाबासी गैरआवासीय नेपालीहरु सम्पूर्णमा नमस्कार;

नेपाल बाहिर बस्दैं आएका हामी गैर आवासीय नेपालीको साझा, प्रतिनिधिमुलक एवं गर्व गर्न सक्ने संस्थाको रुपमा गैरआवासीय नेपाली संघ रहेको तपाई हामी सबैलाई जानकारी रहेकै छ। संघको राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको नयाँ सदस्यता वितरण, नविकरण, आजिवन सदस्यता वितरणका लागि संघको वर्तमान कार्यसमितिले द्रुत गतीमा कार्य अघि बढाइरहेको कुरा यहाँहरु जानकार नै हुनुहुन्छ।

हुनत, संघको विधानले व्यवस्था गरेको सदस्यता सम्बन्धी प्रावधान पुरा गरी सदस्य बन्न सक्ने योग्यता पुग्ने गैरआवासीय नेपालीले संघको सदस्य बन्नका लागि निश्चित समय कुरिराख्नु पर्दैन। यो निरन्तरको प्रक्रिया हो। तर पनि संघले यतिखेर सदस्यता वृद्दि, नविकरण, आजिवन सदस्यता वृद्दिलाई विशेष महत्व दिएर अभियान नै संचालन गरिरहेको छ।

संघलाई विधि, पद्दती र संस्थागत ढंगवाट अघि बढाउनका लागि संघको विधानले निदृष्ट गरेको निर्वाचन प्रक्रियालाई प्राथमिकतामा राखी प्रत्येक नयाँ कार्यसमिति चयन हुनुअघि त्यस कार्यसमिति चयन गर्न मतदानमा भाग लिन पाउने सदस्यहरुको सुनिश्चितता गर्नुपर्ने हुन्छ। त्यसै पक्षलाई ख्याल गरी अव आउने वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि सदस्यता वितरण, नविकरण र आजिवन सदस्यता वितरणको कार्य द्रुत गतीमा भैरहेको छ।

यस कार्यमा जुटिरहनु भएका राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा बोर्डका साथीहरु, संरक्षक ज्यूहरु, सल्लाहकार ज्यूहरु, अमेरिकावाट एनआरएनए आइसिसीमा प्रतिनिधित्व गर्नुभएका आइसिसी पदाधिकारी, सदस्य, मानार्थ सदस्य एवं सल्लाहकारहरु, विभिन्न कमिटि तथा टास्क फोर्सका साथीहरु, च्याप्टरका साथीहरु, पत्रकार मित्रहरु, अन्य सामाजिक संघ संस्थाका साथीहरु एवं समस्य एनआरएनए अभियन्ताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। तपाई हामी सबैको साझा प्रयासले फेबु्रअरी १५, २०२१ अघि धेरै भन्दा धेरै अमेरिकामा रहनु भएका एनआरएनहरुलाई सदस्यको रुपमा संघको छाताभित्र गोलबन्द गर्न सकिनेमा म विश्वस्त छु।

अन्त्यमा, म विगतको कार्यकालमा सदस्य बनिसक्नुभएकाहरुलाई नविकरण गर्नुहुन र नबनिसक्नुभएकाहरुलाई सदस्य बन्नका लागि अनुरोध गर्दछु। अमेरिकामा सक्रिय अन्य संघ संस्थाहरुको समेत यस कार्यमा सहयोग्ी भूमिका हुनेछ भन्ने विश्वास राखेको छु । संघको सदस्य बन्ने क्रममा प्राविधिक जटिलता लगायत केही समस्या परेको खण्डमा मेम्वरसिप ड्राइभ कमिटीका साथीहरु, बोर्डका पदाधिकारी तथा बोर्डका साथीहरु, च्याप्टरका साथीहरुलाई सम्पर्क गर्नुहन म विशेष अनुरोध गर्दछु।

मेम्वरसिप ड्राइभलाई सहज बनाउनका लागि संघले हटलाइन नम्बर ८४४–६७६–२८७२ एक्सटेन्सन २ को व्यवस्था समेत मिलाएको छ।साथै [email protected] ईमेल ठेगाना मार्फत पनि सम्पर्क गर्न सकिने छ।

जय एनआरएन, जय एनआरएनए अमेरिका !

सुनील साह

अध्यक्ष

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका

डिसेम्बर २४, २०२०