७ बैशाख २०८१, शुक्रबार
Follow Us

गौरिकाको गौरव

नेपालब्रिटेन डट कम्
११ पुष २०७७, शनिबार २०:४७

‘म नेपाली हुँ, नेपालकै लागि खेल्छु’ गौरिका सिंहले एक वर्षअगाडि काठमाडौंमा १३औं दक्षिण एसियाली खेलकुद चलिरहेका बेला भनेकी थिइन्। गौरिका बेलायतमा बस्दै आएकी र अब नेपाली नरहेको भन्ने आरोपको जवाफमा उनले त्यसो भनेकी थिइन्। गत वर्ष ९२०७६० नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा गौरिकाले हासिल गरेको पदकले उनी नेपाली नभएको भन्नेहरूको आरोप त्यसै बिलाउन पुगेको थियो।

गौरिकाले नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो खेल महोत्सवमा चार स्वर्ण मात्र जितिनन्, दुई रजत र तीन कांस्य पनि जितिन्, अनि सबैको मन पनि। त्यसो त उनको यही प्रदर्शनमा खोट लगाउने पनि रहे। अनि त्यसैको उत्तरमा गौरिकाले ‘म नेपाली हु, म नेपालकै लागि खेल्छु’ भनिन्।

अहिलेसम्मको नेपाली खेलकुदको इतिहासमा सबैभन्दा सफल खेलाडीको सूचीमा गौरिकाको नाम छ। यही कारण नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको वर्ष २०७६ को पल्सर स्पोर्टस् अवार्डको लोकप्रिय खेलाडी विधामा उनको नाम पनि छनोट भएको छ। धेरैले उनी यसका लागि हकदार भएको बताएका छन्।

गौरिकाको खेलकुदको इतिहास धेरै लामो छैन। करिब ४ वर्षअगाडि उनले नेपाली घरेलु पौडीमा ठूलो सफलता पाएकी थिइन्। उनको सबैभन्दा पहिलो उल्लेखनीय प्रदर्शन सन् २०१६ मा भारतमा १२औं दक्षिण एसियाली खेलकुदमा भएको थियो।

गोवाहटीमा उनले नेपालका लागि एक रजत र तीन कांस्य जितेकी थिइन्। त्यसपछि त्यही वर्ष ब्राजिलको रियो डे जेनेरियोमा उनले सहभागिता जनाइन्। विश्व खेलकुदको महाकुम्भमा गौरिका नै सहभागी हुने सबैभन्दा कान्छी खेलाडी थिइन्। त्यसकारण पनि उनको चर्चा चारैतर्फ भएको हो। लोकप्रिय यिनै १८ वर्षीया गौरिकाले धेरैको मत पाएर लोकप्रिय विधामा जित्ने विश्वास धेरैको छ।