१३ बैशाख २०८१, बिहीबार
Follow Us

पत्रकारको निःशुल्क मृगौला परिक्षण

नेपालब्रिटेन डट कम्
११ पुष २०७३, सोमबार १३:१७

काठमाडौं । स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्थानीयस्तरमै निःशुल्क मृगौला परिक्षणको व्यवस्था गरिएकाले तत्काल मृगौला परिक्षण गर्न सवैलाई आह्वान गर्र्नु भएको छ ।
नेपाल प्रेस युनियनले काठमाडौमा आयोजना गरेको पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण कार्यक्रममा मन्त्री थापाले मृगौला परिक्षणका लागि प्रयोग हुने “डिपिस्टीक किट” सवै जिल्लामा पठाई सकिएकाले त्यसको उपयोग गर्न सवैलाई आह्वान गर्नुभयो ।
हरेक ६÷६ महिनामा मृगौला परिक्षण गर्नु पर्ने भए पनि नेपालमा धेरैले परिक्षण नगरेकाले गाँउ गाँउमा परिक्षणको अवस्था गरिएको मन्त्री थापाले बताउनु भयो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपुर्ति व्यवस्थापन महाशाखाले कात्तिकको दोस्रो साता नै देशभरी पहिलो चरणमा २० लाख जनाको मृगौला परिक्षण गर्न पुग्ने गरी किट पठाएको छ । आवश्यकता अनुसार अरु पनि किट पठाउन सकिने महाशाखाको भनाई छ ।
चार महिना अगाडी नै किट पठाउने भनिएपनि कार्यान्वयन नभईरहेका बेला स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनपछि सवै जिल्लामा मृगौला परिक्षण गर्न सकिने व्यवस्था गएिको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई स्थानीय आवश्यकता अनुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउन लगाईएको महाशाखाका निर्देशक भिमसिंह टिंकरीले जानकारी दिनुभयो ।
गाँउ गाँउमा निःशुल्क मृगौला परिक्षणको व्यवस्थाका बारेमा धेरैलाई जानकारी नभएकाले प्रचार प्रसार गर्नका लागि आज नेपाल प्रेस युनियनले पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
सो अवसरमा १३२ जना पत्रकारको मृगौला परिक्षण गरिएकोमा सात जनामा सामान्य समस्या देखिएकाले थप उपचारका लागि परामर्श दिईएको थियो ।
प्रेस युनियनको रजत उत्सवका अवसरमा स्वास्थ्य मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीको प्रस्तावमा प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीको संयोजकत्वमा मृगौला परिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
मृगौला परिक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौका स्वस्थ्यकर्मीहरु राजकुमार मिश्र, भोलानाथ पौडेल, रुपा बुढाथोकी र सहयोगी जानुका चालिसेले प्राविधिक सहयोग गर्नु भएको थियो ।