१२ बैशाख २०८१, बुधबार
Follow Us

कोरोना अवधिमा साउदीबाट फर्किए १९ हजारबढी नेपाली


१३ पुष २०७७, सोमबार ०४:०७

काठमाडौं। साउदी अरेबियामा कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढेपछि रोजगारी गुमाएका, करार अवधि सकिएका लगायत अलपत्र परेका १९ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन्। अलपत्र परेकालाई नेपाल एयरलाइन्स, हिमाल एयरलाइन्स, एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा तथा सलाम एयरलाइन्सको चार्टर्ड उडानद्वारा हालसम्म १८ हजार आठ सय ४२ जना नेपाल आएका छन् भने दुई सयभन्दा बढी शवहरु ल्याइएको छ।

साउदीस्थित नेपाली दूतावास रियाद तथा वाणिज्य दूतावास जेद्धाको सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नविकरण नगरेका एक हजार चार सय ४८ जना नेपालीलाई वहिर्गमन भीषा जारी गरेको छ भने दूतावासले साउदीमा कार्यरत नेपालीको पासपोर्ट नविकरणका लागी आफ्नो फेसबुक पेजमार्फत आवश्यक विवरणसहित अनलाइन फारमको व्यवस्था गरेको छ। पासपोर्टको नविकरणका लागि आवश्यक कागज संकलनको सहजीकरणका लागि साउदीका विभिन्न शहरमा अस्थायी कार्यालयको समेत व्यवस्था गरेको छ।

साउदी सरकारले कोरोना भाइरसको मध्यनजर गर्दै २१ डिसेम्बरदेखि एक हफ्ताको लागि सबै इन्टरनेशनल उडान बन्द गरेको छ भने नेपाली दूतावास रियाद र वाणिज्य दूतावास जेद्धाका अनुसार हालसम्म ८८ नेपालीको कोरोना भाइरसबाट मृत्यु भएको छ।