१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतका अस्पतालहरूमा ‘तनाव’


१३ पुष २०७७, सोमबार ०५:२४

लन्डन। कोभिड-१९ संक्रमितको संख्यासँगै बेलायतका अस्पताल भर्ना हुनेहरूको चाप बढ्दो छ। दक्षिण बेलायतका अस्पतालहरूले ‘तनाव’ बढेको बताएका छन्।

त्यहाँका आकष्मिक स्वास्थ्य सेवा प्रदायकहरूलाई दैनिक ८ हजारभन्दा बढी फोन आएको बीबीसीमा जनाइएको छ। त्यस्तै डिसेम्बर २६ का दिन एम्बुलेन्स सेवा सर्वाधिक व्यस्त रहेको छ। लण्डन एम्बुलेन्स सर्भिसका अनुसार एकै दिनमा ७ हजार ९ सय १८ फोन आएको हो। गत वर्ष सोही दिन २५ सय फोन आएका थिए।

बेलायतमा आइतवार मात्रै ३० हजार ५ सय १ जना मानिसमा संक्रमण पुष्टि भयो। त्यस्तै ३ सय १६ जना संक्रमितले ज्यान गुमाए। स्कटल्यान्ड र नर्थन आयरल्यान्डले डिसेम्बर २४ यताको तथ्याङ्क सार्वजनिक नगरेकाले यथार्थमा संक्रमित संख्या एवं मृत्युदर अझै बढी हुनसक्ने अनुमान गरिएको छ।

डिसेम्बर २२ सम्म बेलायतका अस्पतालहरूमा २१ हजार २ सय ८६ मानिस उपचाररत् थिए। बेलायतमा पहिलो पटक नयाँ स्वरुपको कोरोना भाइरस देखिएको थियो। त्यस लगत्तै त्यहाँ संक्रमण तिव्र रुपमा फैलिएको छ।