राजेन्द्रप्रसाद प्रसाई
भनिन्छ– सम्पत्ती भनेको खाक, छिमेकी भनेको लाख हो । बसोबास गर्ने घर जग्गा हेर्दा छिमेकी कस्तो छ, त्यो पनि हेर्नू– हाम्रा पूर्खाले दिएको अर्ती हो यो ।हाम्रो हालत कस्तो हुँदैछ, हामी नेपाली कस्ता हुँदैछौं र हाम्रा छेमेकी कस्ता छन्? हेरौं आँऊ, केही विश्लेषण गरौँ ।
हामी आफ्नो आहार बिहार, जीबन शैली या नीति सिध्दान्त बदल्न सक्छौं तर छेमेकी बदल्न सक्तैनौं । एकातिर, आर्थिक महाशक्तीको रुपमा संसारभर छाइरहेको महा शक्ती राष्ट्र चीन र अर्कातिर, तीन तिरबाट हामीलाइ घेरिरहेको र खुला सिमाना भएको ठूलो प्रजातान्त्रिक देश भारत । यी हाम्रा नजीकका छिमेकीहरू । र, हेर्दा टाढा देखिए पनि सधैं साथमा छाँया जस्तै रहेर चियो चर्चो गर्ने र चासो राख्ने अर्कामहाशक्ती – युरोप अमेरिका अर्थात्हाम्रा पश्चिमा अंग्रेजी मीत्र देशहरू ।

छिमेकीहरूको चासो र चिन्ता:
१. उत्तरी-भ्राता
आफ्ना सम्पूर्ण जनतालाई अनिवार्य रुपमा काम लाएरउत्पादन गर्ने र संसारका धेरै देशहरूमा सस्तो मूल्यमा दैनिक उपभोगका सामग्री बिक्री गर्दै अरू देशका कैंयौं उद्योगहरूलाई क्रमश: धरासायी बनाउँदै आएको उत्तरी छिमेकी देश चीन, आफ्नो सुरक्षाकालागि सधै नेपालमा अरू देशले गर्ने राजनैतिक गतिबिधिमाथि निगरानी राखी रहेको देखिन्छ । नेपालमा राजतन्त्र, प्रजातन्त्र वा साम्यवादी शासन ब्यबस्था वा अन्य जे आओस् उस्लाई केही चासो छैन, चासो छ त आफ्नो सुरक्षाको । नेपालमा अरू देशका गतिबिधि के हुँदैछन् आफ्नो सम्बन्धमा, सो नियाली रहेको देखिन्छ । यस छिमेकीलाई नेपालका नदी नालाहरूको न तिर्खा छ न त मधेश-मोह वा चिन्ता । राजा महेन्द्रको पालामा बनिएको काठमाण्डौ तीब्बत जोड्ने अरनिको राजमार्ग चीनका सुरक्षाका लागि कतै छोड्नु न समाती रहनुको- भालुको कन्पट त भएको छैन आजकाल ? यो बाटो भएर सजिलै नेपाल भित्रिने तिब्बती शरणार्थीहरू उसकोलागि समस्या त बन्दैनन् ? यो उसको चासो होला । बिगतमा,एकात्मक राज्यको सट्टा, केन्द्रबाट अलग्ग हुन समेत सक्ने आत्मनिर्णय सहितको जातीय राज्यको माग उठ्ता, तीन तिरको सिमा खुला राखेको नेपालको संविधानमा यदि यस्ता संघीय राज्यहरू बनिए भने त्यस्ता राज्यहरू भित्र हुन सक्ने आफू बिरोधी चल खेलले आफ्नो सुरक्षालाई आघात पार्न सक्ने उसको विश्लेषण सुनेर आत्म निर्णयको अधिकार एकाएक चर्चाबाट ओझेल परेको देखिएकै हो । त्यसर्थ भन्न सकिन्छ कि, आफ्नो सुरक्षाको चासो मात्र उसको चासो हो । बिगतमा दक्षिणी नाकाबन्दीको समयमा, उत्तरी छिमेकी चीनले नेपालप्रति देखेको सहयोग,सद्भाव र सदासयता नेपालको राजनीतिक क्षेत्रमा दिशा निर्देश गर्ने एक कोशे ढुंगाको रुपमा रहेको कुरा जानकारहरूमा विदितै छ । यसरी हेर्दा आफ्नो सुरक्षा बाहेक,नेपालमा जुनै सरकार आए पनि ऊ भाइ भाइ (भ्राता) सरह हुँदै कुनै खास प्राप्तिको चाह नराखी सद्भाव र सहयोगको हात बढाउँदै आएको देखिन्छ ।

२.अंग्रेजी दाता:
बिगतमा साम्राज्यबादी शोच र शासन शैली भएका धेरै देशहरूले आफ्नो- फूट गराऊ र शासन गर (Divide and Rule), भन्ने प्रमुख नीति लिएर कैयौं अबिकसित एवं गरीब देशहरूभित्र पसेर धर्म वा ब्यापारको कुरो गरेर त्यस देशलाई खल्बल्याई कसरी रजाइ गरे इतिहासका ज्ञाताहरूलाई थाहै छ । त्यसमा पनि आजको मानव अधिकारको युगमा, चीनकोसाम्यवादी शासन र यसको संसारमा फैलिरहेको एक छत्र आर्थिक उदयमानता सहन नसकी मानव अधिकारको कुरोलाई बढावा दिन नेपालमा संचालन हुने अन गिन्ती एन जी ओ वा आइ एन जी ओहरूमा लगानी गरेर पश्चिमाहरूले आफ्नो पहुँच पुर्याउदै आएका छन् । एकातिर, हाम्रो उहिलेको जंगली अवस्था देखिको लुगा लबज, भेष भाषा,रीति रिवाज आदि पहिचान युक्त छुट्टै राज्यहरू बनाउनमा यी दाताहरूको सहयोग छ त अर्कातिर हाम्रा आफ्ना पुराना यस्ता मौलिक साँस्कृतिक पहिचान मेटाउने चर्च र क्रिस्चियनहरूको संख्या बढाउनमा लगानी बढ्दो छ । गरीबी निवारणमा, रोजगारी प्रबन्धमा,कल कारखाना खोल्नमा भन्दा जात जातिका कुरा उराल्न,पहिचानका कुरा खोतल्न,आपसमा फुट ल्याउन र सधै अस्थिरता कायम राख्न तल्लिन हुन् सकछन् ।मानिसहरूको पहिलो आबश्यकता खाद्यान्नमा पहुँच हुनु पर्छ अर्थात खाद्य सम्प्रभुताको हक अधिकार हुन पर्छ भनेर यस्ता फुट गराउ र शासन गर भन्नेहरूबाट चर्चा गरिन्न,लगानीमा जोड दिइन्न। यस्ता दाताहरूको दान ग्रहण गर्दा हमेशा होश नपुगे मुलुक बर्बाद भै रहन्छ ।

३. भारत भाग्य विधाता:
नेपालको शासनमा आफ्नो प्रभाव र बर्चस्व सदा कायम राख्न तल्लिन हाम्रो दक्षिणी छिमेकीको चासो र सरोकार सम्बन्धी केही चर्चा गरौँ ।

क. नदीहरूको त्राश र पानी बिजुलीको आश:
नेपालबाट भारत तिर बग्ने बेगवान नदीहरूले बर्षा याममा जे जसरी नेपालमा जमिनको कटान गरी, बाढी पैर्हो बोकेर यु पी तथा बिहारका घर खेत बगाएर बिनास गर्छन् ती दृश्यहरू हेरी नसक्नु छन् । बिहारका स्कूलमा सानै देखि विद्यार्थीहरूलाई “कोशी नदी बिहारको ठूलो कष्ट हो (The Koshi river is sorrow of Bihar) भनेर भूगोल पढ़ाइने गरिन्छ । र, यसको समाधान कसरी गर्ने भनेर शिक्षकलाई सोध्दा नेपालको पाहाडबाट तराइमा नपुग्दै दुवै किनारामा बिशाल पक्की तटबन्ध हालेर नियन्त्रण गरी भारत तिर ल्याएमा जमीनमा सिचाई गर्न कुलो नहर निकाल्न सकिने, जमिनमा खेती उब्जनी बढाउन सकिने र जनताका घर जग्गा कटान हुनबाट बचाउन पनि सकिने चर्चा हुन्छ ।
अर्कातिर यस्ता बेगवान नदीहरूबाट जलविद्युत निकाल्नलाई बाँध बाधेर पानि जमाउन समथर भू भागमा गाह्रो हुने तर नेपालका तराइमा फैलिनु अगाडीनै,दुवै तिरका पाहाडी चट्टान भित्र कापमा बग्दै आएको ठाउँमा नदीहरू नियन्त्रण गर्न,बाँध बाँध्न र बिद्युत निकाल्न सजिलो र कम खर्चिलो हुन्छ । दुवै देश मिलेर आपसी लाभ उठाउन पर्छ भन्ने धारणा राख्तै भारतले नेपालका नदी नालाहरूबाट धेरै आशा राखेको पाइन्छ । तर हाल सम्मका नदी सम्झौतामा छिमेकीबाट ब्यबहारमा इमान्दारिता नदेखाँइदा फलाना नेता ले फलानो नदी बेच्यो भनेर भन्ने गरिन्छ ।

ख.खुल्ला सिमाना,तस्करी र आतंकबादको पिडा:
कुनै एउटा छिमेकीले अर्को छिमेकीलाई घरमा ढोका नलगाई सुत्ने गर्नुहोस्, हामी बीचराम्रो सम्बन्ध छ भन्दा अर्कोले मान्ला त ? यदि मान्नु पर्यो भने त्यो छिमेकीको घरमा को को र के कस्ता कार्य गर्ने मानिसहरू बस्छन् सारा गतिबिधिमा दैनिक निगरानी नराखी र सबै चाल चलन नबुझी कसरी ढोका नलगाई बस्न सक्ला ?यही अबस्था छ भारत नेपालको सीमाको । सिमा बन्द गरेर भिसा सिस्टम लगाउने कुरो गरौँ त सिमावारी पारीका कत्ति बासिन्दाहरूको खेती पाती, नाता गोता दुवै तिर छ र सधै वारी पारी गर्नु पर्ला । सिमा ब्यबस्थित नगरौं त जतापट्टी उपभोग्य मालसामान सस्तो पारिन्छ अर्का तिर तस्करी भएर ओसारिन सक्छ ।
सन् १९५० को सन्धीले भारतीय र नेपालीहरू एक अर्का देशमा स्वतन्त्ररुपले आवत जावत गर्न पाउने प्राबधानले गर्दा उस्तै अनुहार भएका चाहे पाकिस्तानी वा बंगला देशी या अन्य कुनै नेपालमा उडेर आई,नक्कली नै भए पनि नेपाली कागज पत्र बनाई भारतमा आतंक मच्चाउन नसक्ने होइनन् । धर्मको आधारमा हिन्दूस्थान र पाकिस्तान दुइटा अलग अलग देश बन्दा पनि आतंकबादले शीर उठाई रहेको देखिन्छ ।

ग.धर्म संस्कृति र तीर्थ ब्रतको आबध्दता :
दुवै देशका जनसंख्याको ठूलो हिस्सा एक अर्काका देशमा रहेका आफ्ना आराध्य देब देबीको तीर्थ स्थलमा तीर्थाटन गर्न जाने परम्परा रही आएको पाइन्छ । बिगतको नाकाबन्दीले धेरै नेपालीहरूलाई आफ्नै देशका देबस्थलको महत्व अब बढी हुन थाले पनि, हामी कतिपयमा अझै नेपाली संबिधानमा हिन्दू धर्म नलेखे सम्म मधेश र मधेशका उता रहेका मसिहा खुशी नहुने र नेपालमा शान्ति नहुने कुरा सुन्नमा आएको छ ।भारतको चार धाम गर्ने कुरा होस् वा नेपालका पशुपतीनाथ, मुक्ती नाथ,धनुषा धाम,बराह क्षेत्र आदि तीर्थस्थलको तीर्थाटन गर्ने कुरो होस् बिना रोकटोक आवत जावत गर्न अभिप्रेरित गरिने गर्छ ।

घ.हिन्दी फिल्म,हिन्दी मिडिया र गोर्खा सैनिकको रोजगारीआदिमा आबध्दता :
नेपाली सिनेमा घरमा सजिलै भित्रिने हिन्दी फिल्म र संचारसेटमा बज्ने हिन्दी गीत संगीतले नेपाली मन मस्तिष्कमा ठाउँ बनाएकै छन् । त्यस्तै बिभिन्न हिन्दी टेलिभिजनको प्रभाव परेकै छ । आर्थिक अभाव,नेपालमा बेरोजगारी एवं नेपालको भन्दा आकर्षक तलब आदि सुविधाले गर्दा समेत भारतको रक्षार्थ नेपालीहरू भारतीय सेनामा काम गर्दै आएको छंदैछन् । नेपाल सामरिकरुपले,व्यापारिक रुपले अति महत्वको भूभाग भएकोले पनि आफ्नो सरोकार भारतले राख्ने गरेको देखिन्छ ।
यसरी बिबिध कारणले नेपालको हरेक राजनीतिक प्रक्रियामा छेमेकीको चासो उपस्थित हुने गरेको देखिन्छ । यति सम्म कि तत्कालिन दूर संचारका प्रबन्धक समेतमा पहुँच राखी नेताहरू र तिनका नातागोताका टेलिफोनमा टेप गर्ने उपकरण जडान गरेर सारा कुरा नसुने सम्म ढुक्कले बस्न नसक्ने रहस्य बाहिर नआएको होइन ।आफ्ना चासो पुरा गराउन नाकाबन्धीको प्रमुख अस्त्रले मरीचमानले राजनीतिबाट हात धुनु परेकै हो । नयाँ संबिधान जारी भए पछि भएको नाकाबन्दीमा ग्यास तेलका अबैध ब्यापारीहरूले आफ्नो धन्दा जारी राख्ता र नेपाली जनताले तत्कालिन सरकारलाई साथ दिंदा नाकाबन्दी क्रमश:फेल भएको थियो । त्यस्तै चीनको सहयोगी सदासयताले पनि ठूलो भूमका खेलेकै हो । ओली कामरेडको बाकपटुकता, संगठन कला, राष्ट्रिय अडानबाट समेत तर्सिएको भित्री बाहिरी लौकिक अलौकिक इच्छाले उहाँलाई पद मुक्त गराई सो ठाउँमा हाम्रा “ अति गरीब” अर्काकामरेडलाई जिम्मेवारी सुम्पेको पाइन्छ । अरु प्रमुख नाकाहरू बन्द गरिंदा पनि काठमाण्डौ लगायत पाहाडलाई सामान सप्लाई गर्ने हालको पांच नम्बर भित्रको नाकाको महत्व हाम्रा तीन ठूला दलका त्यस क्षेत्रका नेताहरूलाई थाहै रहेछ र एकमत भएर यो बचाउन लागि परेका देखिन्छन् । यदि छिमेकी चासोले यदि शान्ति पाएको अझै छैन भने दुई देशले आपसी लाभ लिन गहन अध्ययन र विश्लेषण गरेर सम्बन्धित सन्धिको सामयिक सुधार गरेर अगि बढ्नू पर्छ ।
मधेश त एक बहाना हो । के पाइन्छ मधेसमात्र को प्रदेश बनाइदां ? न जडी बुटी, सुन खानी, न डलर बोकेर पर्यटकको घुंइचो,न जलविद्युत्को लागि नदीहरूको बेग? एउटा पाहाडको आँगनबाट मलाई दुई मिनेट हिमाल हेर्न देउन म यति डलर दिन्छु भनेर पर्यटकले पहाडमा भन्ला तर तराइको आँगनमा त्यो हुने छैन । मधेश मात्रैको प्रदेश- २ नम्बर प्रदेश बनाइदा, बनाए पछी एक मधेशकै नेताले भनेका थिए “ जानकी मन्दीरको भेटीले मात्र दुई नम्बर प्रदेश कसरी चलाउन सकिन्छ ?” उनको आसय थियो पाहाड मिसाउनु पर्छ । वास्तबमा २ नम्बर प्रदेश बनाउँदा हतारमा गल्ति भएकै थियो जसरी मधेश र पाहाडको कुरा भनेर हाल ५ नम्बरको कुरा प्रस्ताबमा आएको छ ।
त्यसर्थ बाह्य बहाना कसैको एउटा भए पनि भित्री प्रेसर कुन छिमेकीको कस्तो छ सरकारमा बस्नेहरूलाई, त्यो खुलस्त जन मानसमा आउनु पर्छ । छिमेकी संग मिल्रेर परस्परमा ससम्मान लाभ लिने गरी योजना,कार्यक्रम र सन्धीहरू के कस्ता नयाँ चाहिएको हो छिमेकीमा खटाइएका कुटनीतिक नियोग प्रमुखले अध्ययन गरेर आफ्नो सरकारलाई अझ बढी सचेत गराउनु पर्छ । यताको खबर उता उताको खबर यता पुर्याउने मात्रको हुलाकी स्तरबाट माथि उठ्न सक्ने नेपाली कुटनीतिज्ञ आजको पेचिलो आवश्यकता हो । त्यसैले नेपालले पनि कुटनैतिक कौशलता जानेमा भारत समस्याको जड मात्रै होइन दुवै देशकालागि भारत भाग्य विधाता पनि बन्न सक्छ । अस्तु ।
(sunaulonepal@yahoo.com)