८ बैशाख २०८१, शनिबार
Follow Us

प्रतिनिधिसभा विघटन असंवैधानिकः पूर्वराष्ट्रपति डा. यादव

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७७, बिहीबार ११:५५

काठमाडौँ । प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा धकेलिएको पूर्वराष्ट्रपति डा. रामवरण यादवले बताएका छन् ।

बिहीबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तेज–तीर्थ ट्रष्टको आयोजनामा गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दूरगामी असर पार्ने र देश अनिश्चितताको बाटोतर्फ गइरहेको बताए।

उनले असंवैधानिक कदमलाई सच्याउन सबै देशबासीको जिम्मेवारी रहेको पनि बताए । पूर्वराष्ट्रपति यादवले अदालत नेपाली जनताको आशा र भरोसाको संस्था भएकोले अदालतबाट न्याय हुनेमा सबै लोकतन्त्रवादी र आफ्नो पनि आशा रहेको विश्वास व्यक्त गरे। ‘सबैको विश्वास अदालतमाथि टिकेको छ, न्याय होला भनेर म पनि आशावादी छुँ’,उनले भने

यादवले २०३३ सालमा विपी कोईराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण देशमा प्रजातन्त्र, राष्ट्रियता र शान्तिको निम्ति मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए ।

पूर्वराष्ट्रपति यादवले राष्ट्र र राष्ट्रियताको दूरगामी प्रभावलाई विचार नगरी प्रतिनिधि सभा विघटन गरेर लोकतन्त्रलाई आघात पारिएको बताए।