१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नयाँ कोरोन भाइरस पत्ता लगाउन बेलायतबाट फर्केका पाँच जना संक्रमितको स्वाब हङकङ पठाइँदै

नेपालब्रिटेन डट कम्
१७ पुष २०७७, शुक्रबार ०४:५१

बेलायतबाट नेपाल फर्केका पाँच जना कोरोना संक्रमितको भाइरस नयाँ हो/होइन भनेर यकिन गर्न स्वाब हङकङ पठाइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा स्वाबलाई ‘जिन सिक्वेन्सिङ’ मार्फत् भाइरस नयाँ हो कि पुरानै हो भनेर पत्ता लगाउन हङकङ पठाउन लागेको हो।

अहिले हङकङ पठाउन लागिएको पाँच वटै पोजेटिभ स्वाबलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा राखिएको छ।

प्रयोगशाला स्रोतले यही साताभित्रै स्वाबलाई विश्व स्वास्थ्य संगठनको सहकार्यमा हङकङ पठाइने जानकारी दिए।

‘उहाँहरूसँग समन्वय भइसकेको छ। हामीले स्वाब परीक्षण गरेर सबै तयार पारिसकेका छौं। कुरिअरको लागिमात्र कुरेर बसेका छौं,’ उनले भने, ‘सकभर यही साताभित्र स्वाब हङकङ जान्छ।’

हङकङ पठाएपछि अर्को एक साताभित्र भाइरस नयाँ वा पुरानो हो भनेर नतिजा आउने उनले बताए।

भाइरस नयाँ हो वा पुरानै हो भनेर छुट्याउन ‘जिन सिक्वेन्सिङ’ गर्नुपर्ने र तत्काल त्यो सुविधा नेपालमा नरहेको भन्दै मन्त्रालयले स्वाब हङकङ पठाउन लागेको हो।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखा परेपछि सरकारले पुसयता बेलायतबाट नेपाल फर्केका यात्रुहरूलाई परीक्षण गराउन अनुरोध गरेको थियो। त्यसमध्ये अहिलेसम्म पाँच जनामा संक्रमण पुष्टि भएको छ। तर उक्त संक्रमण नयाँ हो/होइन भनेर थाहा हुन हङकङ पठाइने स्वाबको नतिजा आउनुपर्छ।

पुसयता बेलायतबाट २ सय ३५ जना यात्रु आएको सरकारसँग तथ्यांक छ। अझै केही यात्रुहरूले परीक्षण गर्न बाँकी रहेको बताइएको छ।

पोजेटिभ देखिएका पाँच जना व्यक्ति भने अहिले आइसोलेसनमा छन्।

सुरूमा बेलायतमा देखिएको उक्त नयाँ प्रकारको कोरोना अहिले अन्य देशमा पनि फैलिँदै गएको छ।

फ्रान्स, स्पेन, क्यानडा, अमेरिका, जापान, दक्षिण अफ्रिकासँगै भारतमा पनि नयाँ प्रकारको कोरोना भेटिएको छ।

छिमेकी भारतमा पनि नयाँ प्रकारको भारइस फेला परेपछि यसले नेपालमा समेत चिन्ता थपेको छ। पुरानो भाइरसभन्दा ७० प्रतिशत बढी संक्रामक रहेको भनिएको नयाँ भाइरसले शरीरमा छिटो आक्रमण गर्ने र धेरै फैलिने अध्ययनहरूले जनाएको छ।