१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि प्रदेश एकलाई

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७७, आईतवार ११:०३

काठमाडौ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश एकले उचालेको छ । आईतबार दाङको लमहीमा भएको फाइनल खेलमा साविकको विजेता विभागीय टोली एपीएफलाई छ रनले पराजित गर्दै प्रदेश एकले पहिलोपटक उपाधि जितेको हो । उपाधिसँगै प्रदेश एकले नगद पाँच लाख प्राप्त गर्दा उप– विजेता बनेको एपीएफले तीन लाख प्राप्त गरेको छ ।

फाइनल खेलमा प्रदेश एकले प्रस्तुत गरेको एक सय ६ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित हुन् पुगेपछि प्रदेश १ लाई उपाधि उचाल्न प्रयाप्त बन्यो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् भने करुणा भण्डारीले अविजित रहदै २६ रन बनाइन् । यस्तै ओपनर ब्याटरले १४ रनको योगदान दिँदा अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा जितको नजिक पुगेर एपीएफ निराश हुन् पुग्यो ।

बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र अलिशा खडियाले दुई दुई विकेट लिए । भने संगिता राईले १ विकेट लिइन् । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । कप्तान रुविना क्षेत्रीले १८ र अप्सरी बेगमले ३४, काजल श्रेष्ठले २९ रनको योगदान दिए । बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले तीन विकेट हात पारिन् । यस्तै करुणा भण्डारीले १ विकेट लिएकी थिइन् ।