१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए विषेश अधिवेशनको तयारी तिब्र

नेपालब्रिटेन डट कम्
१९ पुष २०७७, आईतवार २१:३६

नयाँ प्रतिनिधी छान्न पाउनु पर्ने राष्ट्रिय समितिको माग

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विषेश अधिवेशनको तयारीलाई तिब्र पारिएको छ ।

जनवरी अन्तिसाता हुने विषेश अधिवेशनमा भाग लिन प्रतिनिधीहरुले धमाधम नाम दर्ता गरेको गैरआवासीय नेपाली संघले जनाएको छ ।
संघका अनुसार आइतवार साँझसम्म विश्वभरका ४८ देशका करिब ११ सय जना प्रतिनिधीले आआफ्नो नाम दर्ता गरेका छन् ।

नेपाल सरकारको समेत विषेश उपस्थितीमा आयोजना हुने सो अधिवेशनमा आर्थिक, वार्षिक र विधान प्रतिवेदनमाथि छलफल गर्ने तयारी गरिएको छ ।

गैरआवासीय नेपाली संघको विधान समितिका सहसंयोजक रामशरण सिमखडाका अनुसार समितिले विधानको मस्यौदालाई अन्तिरुप दिन गैरआवासीय नेपालीहरुसंगको छलफल जारी राखेको छ ।

विधान समितिले शनिवार र आइतवार मात्र करिब २ सय जना गैरआवासीय नेपालीहरुको सुझाव संकलन गरेको थियो ।

सन २०१९ को अक्टोवरमा सम्पन्न ९ औं महाधिवेशनमा भाग लिएका प्रतिनिधीहरुलाई नाम दर्ता गर्न आगामी सोमवार सम्मको म्याद तोकिएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघका दुई दर्जन भन्दा बढी राष्ट्रिय समितिले विषेश महाधिवेशनमा आफुहरुले विषेश महाधिवेशनको लागि प्रतिनिधी छान्न पाउनु पर्ने भन्दै संघको नेतृत्व समक्ष निवेदन दर्ता गरेका छन् ।

संघले नयाँ प्रतिनिधीहरुको नाम दर्ता बुधवार देखी शुरु गर्ने बताएको छ । संघको विषेश अधिवेसन नेपाल सरकार परराष्ट्रमन्त्रालयको अनुमतिले जनवरी २३ र २४ तारिख भर्चुअल माध्यबाट हुदैछ ।