January 22, 2021
6:46 PM | 12:31 AM
खेल

बिग बास लिग : होबार्ट पराजित खेलमा सन्दिपको १ विकेट

  04/01/2021 मा प्रकाशित

मेलबर्न । अष्ट्रेलियामा जारी बिग बास लिग ‘बीबीएल क्रिकेटमा सन्दीप लामिछाने आवद्ध होबार्ट हुरिकेन्स पराजित भएको छ । सोमबार भएको खेलमा होबार्ट मेलबर्न स्टार्ससँग १० रनले पराजित भएको हो ।

मेलबर्नले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रनमा समेटिएको हो । होबार्टका लागि बेन म्याकडेर्मोटले ९१ रनको अर्धशतकीय इनिङ्स खेले । डाविड मालनले २६, पिटर ह्यान्डकम्पले २१ र कोलिन इन्ग्रामले १७ रन जोडे । मेलबर्नका साम रेनबर्डले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । मेलबर्नका लागि मार्कुस स्टोनिसले ९७, हिल्टन कार्टराइटले ३६, निकोलस पुरनले २६ रन जोडे । कप्तान ग्लेन म्याक्सवेलले ६ रन मात्रै बनाए ।

होबार्टका नाथन एलिसले तीन विकेट लिए । रिले मेरेडिथले दुई तथा सन्दीपले एक विकेट लिए । सन्दीपले ४ ओभरमा ३६ रन खर्चिएर १ विकेट हात पारेका हुन् । सन्दीपले लगातार दोस्रो खेलमा विकेट लिएका हुन् । अघिल्लो खेलमा उनले दुई विकेट लिएका थिए । जितपछि मेलबर्नले ७ खेलमा १५ अंक जोडेर चौथो स्थानमा रहेको छ । होबार्ट १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया