७ बैशाख २०८१, शुक्रबार
Follow Us

पोर्चुगलको अस्पतालमा पहिलो नेपाली परिचारिका

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७७, बुधबार १०:१९

काठमाडौँका इन्दिरा ब्यञ्जन्कारले पोर्तुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली नर्सको रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । बाल्यकालमा आफ्नो आमाले घर छिमेकीमा सामान्य घाउचोट र सामान्य रुवाखोकीको बिरामीलाई घरमा बोलाई प्राथमिक उपचार गर्नुभएको कारण आफूलाई स्वास्थ क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उहाँले बताउनुभयो ।

त्यही सपना पूरा गर्ने उद्देश्यसहित चाँदनी उच्च माध्यमिक विद्यालयबाट १२ कक्षा पास गर्नुभएका ब्यन्जन्कार भारतको राजीव गान्धी विश्व विद्यालयको स्वास्थ र विज्ञानअन्तर्गत रवण क्याम्पसबाट ब्याचलर (स्नातक) डिग्री हासिल गरी नर्सिङ पेशामा आवद्ध हुनुभएको हो ।

आफ्नो आकांक्षा पूरा गर्न उहाँ ललितपुर जिल्ला पुल्चोकस्थित निदान अस्पताल तथा नेपाल अर्बुद हस्पिटल तथा अनुसन्धान केन्द्र हरिसिद्धिमा र केही समय स्वयंसेवक रुपमा काम गरेपछि उहाँको भूमिकाको उचित मूल्याङ्कन गरी उहाँलाई नर्सिङ पेशामा कार्य गर्न अस्पताल प्रशासनले सेवा गर्ने अवसर दिएको बताउँदै तीन वर्ष स्वास्थ्य स्वयंसेवीका रूपमा कार्यरत रहनुभयो ।

त्यसलगत्तै आफ्नो श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा युरोपेली मुलुक पोर्चुगलमा रहेको र उहाँ सन् २०१४ मा पारिवारिक भिसामा पोर्चुगल आउनुभएको हो । उहाँको वैदेशिक यात्रापछि आफ्नो कुशल स्वास्थ्यकर्मी बन्ने इच्छालाई पूर्णविराम लाग्ने हो की भनेर निकै चिन्तित भएको बताउँदै उहाँले जहाँ ईच्छा त्यहाँ उपाय भन्ने भनाइलाई आत्मसात गरी आफू आएको मुलुकमा आफ्नो रुचिको पेशाका लागि अध्ययनलाई अगाडि बढाउन सोच बनाउनुभयो ।

उहाँका अनुसार शुरुवातमा नयाँ देश, नयाँ भाषा, निकै कठिनाई भोग्नुपरेको थियो । पोर्चुगलमा अङ्ग्रेजी भाषालाई प्राथमिक नदिने कारण यहीँको पोर्चुगाली मातृभाषा अनिवार्य भएकाले पटकपटक विश्व विद्यालयबाट भाषा परीक्षामा असफल भए पनि कुनै हार नखाइ निरन्तर लागि परेपछि आफ्नो लक्ष्य पूरा गर्न सफल भएको अनुभव ब्यन्जनाकारसँग छ ।

पोर्चुगलमा नर्सको लाइसेन्सका लागि यहाँको भाषामा डिप्लोमा गर्नुपर्ने पनि अनिवार्य रहेछ । त्यसलगत्तै उहाँ पोर्तुगिज नर्सिङ काउन्सिलको परीक्षामा सहभागी भई आफूलाई नर्सिङ पेशामा आवद्ध हुन लाइसेन्स प्राप्त गर्न सफल हुनुभयो ।

सन् २०१८ डिसेम्बरदेखि पोर्तो साल्भोमा सञ्चालित नातुरिदाद नर्सिङ होममा आवद्ध भएर काम गर्नुभयो । त्यसपछि लिस्वन बेलाईस्थित सरकारी अस्पताल एगास मोनिसमा काम गर्नुभयो । नयाँ स्थान विल्कुलै नयाँ परिवेशमा काम गर्दा शुरुवातका दिनमा निकै कठिनाइ भएको बताउँदै उहाँले इमान्दारिताका साथ आफ्नो पेशामा लागिपरेको तथा वरिष्ठ चिकित्सक र नर्सको सहयोगमा काम गर्न सहज भएको अनुभव सुनाउनुभयो ।

उहाँ अहिले पोर्चुगलको राजधानी लिस्वनको मुटु मार्तिमुनिज नजिकै रहेको सेन्ट क्रिस्टोफर नामक एक अर्धसरकारी अस्पतालमा स्वास्थ्य सेवामा सक्रिय रुपमा कार्यरत हुनुहुन्छ । लामो समयको मेहनतको फल अनुरुप आफ्नो लक्ष्य प्राप्त गर्न २०१८ पोर्चुगलमा पहिलो नेपाली लाइसेन्स प्राप्त स्वास्थकर्मीको नामबाट चिनिने अवसर प्राप्त भयो । यो सङ्घर्ष, मेहेनत र सफलतासँगैको पेशाले उहाँ र उहाँको परिवार मात्रै नभएर पोर्चुगलमा बसोबास गरिरहेका नेपाली पनि निकै खुशी हुने गरेको उहाँले बताउनुभयो ।

आफू कार्यरत अस्पतालमा आफूले गरेको कार्यप्रति सन्तुष्टि रहेको बताउँदै उहाँले आफूलाई समस्या पर्दा सहयोग गर्ने, कामप्रति निर्वाह गरेको इमानदारीतालाई प्रशासनले सम्मान गरेको जानकारी दिनुभयो ।

यही समयमा आएको कोरोना भाइरस जसले संसारलाई नै हल्लाइरहेको छ । विश्वभरी ठूलै सङ्ख्यामा मानवीय क्षति भइरहेको छ । कोरोनाकै विश्वव्यापी महामारीमा म आफू रहेको देश पोर्चुगल पनि अछुतो रहनसकेको छैन् । उनको काम, अनुभव र बुझाइअनुसार पोर्चुगल सरकारले समयमै ध्यान दिएका कारण अन्य देशमा जस्तो कोरोना महामारीको सङ«क्रमण फैलने क्रम घट्दै गयो ।

हाम्रो अर्को एक जिज्ञासामा उहाँले भन्नुभयो, “म मेरो पेशा अनुसार आफू कार्यरत हस्पिटलमा अगाडिको स्थानमा कर्मचारीको रुपमा प्रतिदिन कार्यरत रहिआएको छु ।” फेरि मेरो वार्ड रेस्पीरेटोरी वार्ड, कोरोनाको बिरामी यही वार्डमा भर्ना गर्नेभयो । अस्पताल भर्ना भएका बिरामीलाई केयर पुगे नपुगेको, उनीहरुको स्वास्थ्यस्थिति, टेस्ट रिपोर्ट के कस्तो आइरहेको छ ? त्यो पनि बुझ्नुपर्ने, नयाँ तालीम र मेडिकल अपडेटको पनि जानकार रहनुपर्ने त मेरो जिम्मेवारी नै थियो । जस्तोसुकै अवस्थामा म मेरो पेशाका कारण मानवीय सेवामा जिम्मेवार छु र बन्नु पनि पर्छ । आफू पनि म मान्छे न हुँ । जब आफू बसेको घरबाट सेवाका लागि अस्पताल जान निस्किन्छु मेरो मनले सधैँ सबैको सुस्वास्थ्यका लागि भगवानसँग प्राथना गर्ने गरेकी छु ।

पछिल्लो समय मनमा कोरोना भाइरस आफूलाई पनि नछाड्ने हो की भन्ने कुराले सताएको अनुभव छ । आफ्नो मनभित्रको डरलाई लुकाउँदै बिरामीलाई हौसला दिने साथै आफ्नो परिवार, साथीलाई, हौसलाका साथ आत्मबल बढाउन सकारात्मक सोचाइको विकास गर्नुपर्ने कुरालाई उहाँले जोड दिनुभयो ।

अझ नेपाली समुदायमा भाषाको कठिनाइका कारण स्वास्थमा आएका समस्याको विषयमा छलफल, परामर्श, सल्लाह र जिज्ञासा मेटाउन उहाँको व्यस्तता उत्तिकै बढिरहेको छ । विभिन्न समयमा नेपाली समुदायले सञ्चालन गरिरहेका स्वास्थ शिविरमा सहभागी भई उहाँको नेतृत्वमा स्वास्थसेवा प्रदान गर्न विशेष भूमिका निर्वाह गर्नुभएको छ ।

उहाँले कोही नेपाली दिदिबहिनी पनि आफ्नो उद्देश्य अनुसार नर्सिङ पेशामा आबद्ध हुन चाहनुभएमा आफ्नो अनुभवको आधारमा जो कोहीलाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
–भगवान गिरी