April 12, 2021
4:28 PM | 9:13 PM
ताजा खबर

बेलायतमा झ्याँग्गिदै गएको कोरोना संक्रमणको प्रभाव

  06/01/2021 मा प्रकाशित

प्रकाश के.सी. लण्डन । यो साल हिउँ नपरेको भए तापनि बाहिरको चिसोलाई एक सरो कपडाले ढाक्न सकेको छैन र त आम मानिसहरु कपडाको चांग बोकेजस्तै लगाएर हिँड्छन् । चिसोको कठ्याँग्रिँदो प्रहारले बेलायतका घरहरुका कुना काप्चामा ओसिलोको कुरुप छाप फैलिँने गर्दछ । ओसिलो पन भित्ता मात्र नभई सम्वेज्ञमा साटिएको झैं लाग्दछ । विहानको अबेलासम्म र अपरान्हको सखारै अँध्यारिएर फैलिने आकाशले मनलाई पनि अँध्यारो बनाउन थाल्दछ, जसलाई खुकुरीमा पाइन चढाएको जसरी कोरोना भाइरसको चुलिएको संक्रमणले धारिलो अनि गाढा बनाउन थाल्दछ खासगरी योबेला । त्यसले आम मानसिकतालाई कति रेट्यो होला, कति चिथोर्यो होला भन्ने भुक्तभोगीहरुबाहेक अरुले त अनुमान न लगाउने हुन् ।

बेलायतको ताजा तथ्यांकानुसार आजको मितिमा, बेलायतमा २७.१ लाख मानिसहरुमा कोरोना भाइरस लागेको छ भने, बेलायतमा यही मितिसम्ममा यही भाइरसले गर्दा ७५,४३१ जनाको ज्यान गइसकेको छ, जो पछिल्लो समयमा दिनको लगभग ८०० को दरले हप्ताको लगभग ५,००० जनाले ज्यान गुमाएका हुन् भने प्रतिदिन ६०,००० को दरले हप्ताको १०,००,००० जना मानिसहरु यस रोगबाट संक्रमित भएका हुन् । रोग र रोगीहरुको तथ्यांक संख्याहरुमा मात्र हुँदैन । बेलायतमा मात्र होइन, विश्वको सयौं मुलुकहरुमा कोभिडको प्रकोपले देशको अर्थ व्यवस्थाहरु विस्तारै धरासायीजस्तै पारेको छ, तर साथसाथ सामाजिक मूल्य र मान्यतालगायत मानवीय सम्वेज्ञहरु, सम्वन्धहरु पनि चौपट पारेको छ ।

एक सर्भेअनुसार बेलायतमा पूर्ण अनि अर्ध गरी लगभग ४,००,००० जति जागीरहरु हराएका छन् भने अझै यो वर्ष अरु हजारौंं हजार जागीरहरु भास्सिने भएका छन् । सयौं व्यवसायहरु पूर्ण रुपमा धरासायी भएका छन् जो क्रम अझै बढ्दो छ, जसलाई धान्न सरकारले सक्दो आर्थिक टेवाहरु नदिएको होइन, तर ती टेवाले नथेग्ने प्रकारका भारहरु दिनप्रतिदिन थपिएका छन्, तर त्योभन्दा भयावह किसिमले मानवीय सम्वेज्ञ अनि सम्वन्धहरु छिन्नभिन्न भएका छन् । छापामा आएको तथ्यांकअनुसार बेलायतमा कोभिड १९को उपजस्वरुप २५ प्रतिशतको दरले विवाहितहरुमा सम्वन्ध विच्छेदहरु भइरहेका छन् र अर्को त्यस्तै खोजअनुसार २०१९को तुलनामा २०२०मा ३० प्रतिशत ज्यादा मादक पेय पदार्थहरुको खपत भएको छ, जसले आम जीवनमा एकांकीपन अनि उदासी हालत ज्यादा विद्यमान भएको बताइएको छ ।

मेरो जीवनबाट एउटा सग्लो वर्ष त्यसै भास्सिएको छ । जीवन, आफैमा अनुमान लगाउन नसकिने पलहरुको सग्लो अध्याय हो । खासगरी वितेका १२ महिनाको अनुभवको निचोडलाई आधार मानेर भन्ने भए, जीवनको सग्लो अध्यायको अन्तिम पाना अचानकै लेखिएको पनि हुन सक्ने रहेछ । अपत्यारिलो किसिमले हिजोअस्ति बोलिएका मानिसहरु सदाकै लागि अमुक विलाएका घटनाहरु यति देखिएको छ कि, बेलाबेलामा तिनका फोनहरुमा कल गर्दा धेरै पछिसम्म तिनले बोलेर छाडेका भ्वाइस मेलको सम्वोधनहरु सुनी विश्वासै हुँदैनथ्यो कि तिनीहरुले कलब्याक गर्दैनन् भनेर, तिनका समाजिक सञ्जालमा तिनले नयाँ पोस्टहरु गर्दैनन् भनेर । यी नै यस्ता वास्तविकता हुन्, जसले जीवनको यो बेलाको वर्षहरु निक्कै निक्कै नै महंगो बनाएर ल्याएको छ र त्यही पनले मेरो जीवनको एक सग्लो वर्ष बित्यासमा बितेको छ । काम र घर अनि नजिकको बजारबाहेक कतै नगएर, कुनै भेला अनि समूहमा नउभिएरै बित्यो । यही सानो परिवेशमा म स्वयंले देखेको घटनाहरु, कुराहरु अनि तथ्यहरुलाई नै आधार बनाए पनि कोभिडले चिथोरेका दर्जनौं कथाहरु बन्नेछन् । मेरो छिमेकी स्यामूयलले पहिलो नेशनल लकडाउनभित्रै आफ्नो चौध वर्षसम्म लगातार गरेको काम गुमायो । उसले काम गर्ने कम्पनी नै डुब्यो ।

आफ्नो पचपन्न वर्षको उपरान्तमा उसले निधो गर्यो, ऊ अब घर बेचेर श्रीमतीसँग बस्नको लागि श्रीमतीको देश हंगरी जानेछ । त्यसैको कार्यान्वयनमा उसकी श्रीमती केरोल हंगरी गई र यता स्यामुयलले घरलाई बिक्रीमा राख्यो । हप्ता, महिना हुँदै पूरै वर्ष बित्यो, उसले घर बिक्री गर्न सकेन तर दुई महिनाअगाडि केरोल हंगरीबाट आई, दुई हप्ता बसेर फर्केर गई उतै । अहिले ती दुई सँगै छैनन्, तिनको पारपाचुके भएको छ ।
अस्थायी रुपमा लण्डनमा बस चलाउन थालेको स्यामुयल बेलुका बेलुका फिट्टु भएर आउँछ, बेलाबेलामा मलाई रक्सी पिउनको लागि आफ्नोमा आउन भन्छ, तर उसको विरहलाग्दो पनले पोल्ने डरले उसकोमा जान सकेको छैन । मेरो देब्रेतर्फ बस्ने नर्स ज्याकीलाई धेरैपटक एक्लै हिँडेकी देखेर एक हप्ताअगाडि मैले सोध्न भ्याएको थिएँ..अनि निक खोइ त? अचेल देखिँदैन नी? ..उसले फिस्स हाँस्दै भनेकी थिई..दुई महिना भइसक्यो, हामी अलग्गिइसकेका छौं । ऊ बाहिर बस्छ । .. यता हामी अर्थात् म र मेरी श्रीमती आश्चर्यमा थियौं । किनकि हिजोजस्तै लाग्थ्यो, तिनीहरु दुई जना तिनको एक ठूलो कुकुरसँग जिस्किँदै हाम्रो घरअगाडि उभिएर भ्यालेन्टाइनमा तिमीहरु कता जान्छौ भनेर सोधेको । …आखिर के भयो तिमी दुईमा ?.. सोध्न पुगेछु, ..हामी दुईमा विमतहरु ज्यादा हुन गए, त्यसैले अलग्गिएका हौं.. भन्दै ज्याकी अगाडि लागेकी थिई ।

विवाह एउटा सहमतिपत्र नै त पक्कै होइन, यो त साथको ज्ञारेन्टी पो हो, सम्वन्धको लाहछाप हो..यो हामीलाई लाग्दछ, हामी अर्थात् नेपालीलाई लाग्दछ । निश्चय नै सम्झौताहरुले कुनै न कुनै अवस्थामा धान्ने गर्दछ विवाहरुपी ज्ञारेन्टीलाई । सायद हतारका अनि व्यवस्ताका दाम्पत्य जीवन बाँच्ने रैथाने जोडीहरुलाई एकअर्कोलाई चिन्ने र नजिकबाट बुझ्ने समय नै नमिलेको होस्, या सायद खुशी, रमाइलो अनि सरस समयमा फलाएका सम्वन्धहरु, अप्ठ्यारा अनि असजिलो परिवेशमा आउँदा फ्याट्ट फ्याट्ट ओइलिएर झर्ने तिनका सम्वन्धहरु हुन् । कोभिड १९ले स्यामुयल र केरोल तथा ज्याकी र निक मात्र होइनन्, हजारौंको संख्यामा जोडीहरुलाई अलग्याएको छ । तर हामी, अर्थात् हामी नेपालीमा त्यो वास्तविकतामा हाम्रो सम्वन्धहरु भएका होलान् भने लागेन ।

सानो अनि साँघुरो घेरामा फैलिन सक्ने हाम्रा सम्वन्धहरु झन् अप्ठ्याराहरुमा गाढा भएर झ्यांग्गिएर फैलिन्छ, सायद । र त होला, हामीभित्रको मलाई यो पल, यसरी अचानकै दिन अनि रात गरी चौबीसै घण्टाका अनेकन् पलहरुको उठबसले अझ गहिरिएर एकअर्कोलाई बुझ्ने अनि एकअर्कोको कमजोरीहरुउपर सजिलिएर लीन हुन पो सिकाएको छ । म यसबीच, मेरी श्रीमती कुन कुरामा उदास होली भन्दा नी कुन कुरामा रमाउली भन्ने ज्यादा याद गर्दछु । एकअर्कोलाई बुझ्न र त्यसरी नै स्थायीत्व राख्न धेरै होइन, ससाना पलहरु नै काफी हुने रहेछन् । सम्वन्धका साथहरु दैनिकीमा बानी परेर रहेपछि सम्झौताहरु खासै अर्थमा जरुरी होइनन्, सम्वेज्ञ ठूलो हो, मननशीलता विशाल हो ।

केही महिनाअगाडि मात्र हो, सँगै काम गर्ने साइमनले भन्दैथियो…थाहा छ तँलाई, मसँग अहिले नयाँ स्वास्नी छे ।.. उसको भनाइ र सो भनाइको प्रशन्नताले तीनछक्क पर्दै सोधेको थिएँ…अनि कता गए त तेरो पुरानो स्वास्नी अनि तेरो छोरो?…उस्तै नै प्रसन्नतामा उसले भनेको थियो…हामी अलग्गिएका छौं, हामीबीच असमझदारीका खाडल फराकिन थालेकोले हामी दुबै खुशीखुशी अलग्गिएका हौं ।….उसको खुशीलाई पछ्याउने प्रयत्न गर्दै भनेछु …ल, वधाइ छ । अनि तँ साँच्चै नै खुशी छस् त ? खाडलहरुलाई पुर्ने प्रयत्न गरिनस् ? ..हो, साँच्चै नै खुशी छु । मेरो विचारमा मेरी नयाँ स्वास्नी र म एक अर्काका लागि बनेका हौं । कुनै बेला सम्वन्धमा फराकिन थालेको असमझदारीको खाडललाई पुर्ने होइन, खाडल नै त्याग्नुपर्दछ । नत्र दुई दुःखी मनहरु बाँकी जीवनभरि घिस्रिएर बाँच्नुपर्दछ । ..उसले आफ्नो खुशी तर्कसँगत पार्दै यथावत रुपमा खुशीले चुलिइँदै गयो ।…तैंले पहिले तेरो पुरानो स्वास्नी तेरो स्कुलकी स्वीट हार्ट हो भन्थिस् त ..मैले भन्न चुकिँन । ऊ पनि कम थिएन । ..कतिपय सम्वन्धहरु अप्ठ्यारोमा नपरुन्जेलसम्मका लागि हुँदा रहेछन् भने कतिपय अप्ठ्यारामा फुल्दा रहेछन् । मेरो यो नयाँ सम्वन्ध त्यही अप्ठ्यारामा फुलेको हो । ..त्यसपछि मैले केही भन्न सकिनँ । थाहा छैन, अचेल त्यसको अप्ठ्यारोमा फुलेको सम्वन्धको हाल कस्तो छ ? किनकि काममा उसले गरेको एक गल्तीको कारणले ऊ निकालिएको पनि तीन महिनाभन्दा ज्यादा भइसकेको छ ।

बेलायत पूर्ण रुपमा युरोपीयन युनियनसँग अलग्गिइसकेको छ । खासमा भन्ने भए अहिलेसम्म आम जीवनमा त्यो नयाँ सम्वन्धले या सम्वन्ध विच्छेदले केही फरक पारेको छैन । या यो पनि हुन सक्छ, आम जीवनमा पार्न सक्ने असरहरुउपर गम्भीरताका साथ लाग्न सकिने आम रुपमा समय छैन । न त सरकारसँग, न त आम जनतासँग, न त युरोपीयन युनियनसँग नै छ । जताततै कोरोना भाइरसको शक्तिशाली नयाँ स्वरुपको संक्रमणको त्रास व्याप्त छ । एैतिहासिक रुपमा बोरिस जोन्सनले बेलायतको मौलिक स्वरुपको स्थापनाको लागि हर्षोल्लास गर्न पाएनन् । दिनप्रतिदिन झ्याँग्गिदै गएको संक्रमणले सर्वत्र भय फैलिएकोछ । त्यसैको असरको रुपमा तेस्रोपटक बेलायतमा राष्ट्रिय रुपमा नै लकडाउन शुरु भएको छ ।

मार्चतिर खोलिने आशा गरिएको यो लकडाउनले अब कत्तिका जागीर तथा घरबार टुट्छ, त्यो अनुसन्धानकै विषय होला । फाट्टफुट्ट रुपमा म बस्ने बरोहमा देखिएको संक्रमणहरु छिमेकमै आइपुगेको छ, बेलाबेलामा भेटिने छिमेकीहरु नदेखिएको हप्तौंजस्तै भइसकेको छ भने यता घरमा नजम्मिएको त महिनौं नाघेको छ । कहिलेकाहिँ घरका भित्ताहरुमा उदासीहरु लेपिएर आएका लाग्दछन्, मनभित्र चल्ने अनि खेल्ने नानाभाँतीका कुराहरु अल्छिएर त्यही उदासीसँगै लेपसिएका लाग्दछन् । कताकता दिक्दारीले हानेको बेला समय जकडिएर कुँजिई कुँजिई बितेको लाग्दछ, जसले हतार निम्त्याएको महशुस हुन्छ । समय यस्तरी कठोर रुपमा अट्टहास लगाएको लाग्छ कि हामी हाम्रा नियतीको मधुरता नै भुल्दछौं ।

चारै वर्ष त भएछ, यसरी एउटा वासस्थानको जोहो गरेको लण्डनमा । मेरा अभिभावकहरु हुनुहुन्थ्यो, साथमा नभए पनि सँधै सँगै साथैमा रहेका जसरी मेरा बाबाआमा थिए, सायद त्यसको भर्पाइँ गर्ने धोको हुँदो हो, शुरुकै हप्ताको एक दिन, साथीहरुका बाबाआमाहरुका आधा दर्जन टोलीलाई घरमा ल्याएर तिनलाई सत्कार गर्दा परोक्ष रुपमा आफ्ना बाबाआमाको सेवा गरेको महशुस गरेको थिएँ । आफ्नो घरमा बुबाआमालाई सेवा गर्ने धोको भने अधुरै रह्यो, बुबाआमालाई यूकेमा झिकाउन सक्ने उहाँहरुका स्वास्थ थिएन र आखिरमा दुबैले त्यही क्रमिकतामा छाडेरै जानुभयो । साथीहरुका ती आधा दर्जन टोलीहरु सिटिंगरुममा मच्ची मच्ची आआफ्ना विगतहरु, गुर्खा जीवनहरुबारे चर्चाउँदै रमाइरहेका म बाहिर बसेर सुनेको पनि अहिले चार वर्ष बितेछ ।

समय कति क्रुर हुँदै रहेछ । अहिले ती ६ जनामध्ये एक सदाकै लागि यस दुनियाँलाई नै छाडेर गएका छन्, अर्को सदाकै लागि नेपाल फर्किएका छन्, धेरैअगाडि गम्भीर विरामी परेका थिए रे भन्ने सुनिएको थियो, अहिले कस्ता छन् भन्ने थाहा छैन । त्यही टोलीमध्येका अर्का अहिले ओच्छ्यानमा थलिएका छन् । स्मरण शक्ति गुमाउँदै गएका छन् भने बच्चाले जस्तो प्याम्पस लगाउन वाध्य भएका छन् । अनि अर्काचाहिँ राम्ररी देख्न नै सक्दैनन्, त्यसैले घरभित्रै छन् । यसरी नजाँनिदो किसिमले मेरो वासस्थानमा त्यो टोलीको त्यो ऐतिहासिक भेला भएको रहेछ ।

समयले मानिसहरुलाई त्यसरी पाखा लगाएको सउदाहरणको पहिलो पटक भुक्तभोगी भएको यही पल हो । र यसले पनि हतार बनाएको छ, जीवनलाई सक्दो भोग्न वा सक्दो उपयोग गर्न । थाँती परेका सयौं साथहरुलाई समेट्नु छ, सयौं कामहरुलाई भ्याउनु छ, सयौं स्थानहरुमा घुम्नु छ तर अदृष्य अन्यौल परिवेश पो यता फैलिँदो लाग्दछ । हरेक मानवीय मनलाई चिथोर्न सम्वद्ध कोरोना भाइरस तिखारिएर वरपर सग्बगाउँदो पो लाग्दछ दिनप्रतिदिन यतिखेर, किनकि समाचार, चर्चा, हल्लालगायत साधारण कुराहरु पनि अचेल कोरोनामय पो भएका छन् ।

प्रतिक्रिया