१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दुबै नेकपालाई विधानअनुसार विवरण पठाउन निर्वाचन आयोगको पत्र

नेपालब्रिटेन संवाददाता
२४ पुष २०७७, शुक्रबार ०४:०४

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई सुधारसहितको प्रतिवेदन सात दिनभित्र आयोगमा पेस गर्न पत्राचार गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बिहीबार बसेको आयोग बैठकले सो निर्णय गरेको हो ।

आयोगले नेकपाका दुवै पक्षले पार्टीमा गरेको आन्तरिक परिवर्तनलाई दल दर्ता किताबमा अभिलेखीकरण गर्न अस्वीकार गरेको हो ।

दुवै पक्षले आयोगमा उपलब्ध गराएका कागजात कानुनी प्रक्रियाभित्रबाट नआएकाले उनीहरूले उपलब्ध गराएका चिठीपत्र र जानकारीकै आधारमा मात्र पार्टी संरचनागत हेरफेरको विवरण अभिलेखीकरण गर्न नसकिने जनाएको हो ।

आयोगले दुवै पक्षलाई एकैखाले पत्र पठाएर राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र पार्टीको विधानअनुसार आवश्यक सुधारसहितको विवरण पठाउन सात दिनको समय दिएको छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै नेकपाभित्रको विवाद आयोगमा पुगेपछि आयोगले यो दोस्रो पटक दुवै पक्षलाई पत्राचार गरेको हो । सात दिनभित्र दुवै पक्षबाट विवरण प्राप्त भएमा र आयोग त्यसमा सन्तुष्ट भएमा सोबमोजिमको अभिलेख अद्यावधिक गरी राख्नेछ ।

कुनै विवरण परिवर्तन, संशोधन वा हेरफेर हुन नसक्ने भएमा सोही व्यहोराको जानकारी सम्बन्धित दललाई गराउने छ । कुनै परिवर्तन, संशोधन वा हेरफेर हुन नसक्ने भएमा दलको साबिकको विवरण नै कायम रहेको मानिने छ ।

पुस पाँचमा प्रतिनिधिसभा विघटन भएयता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल पक्षले आयोगमा एकले अर्कालाई कारबाही गरेको भन्दै पत्राचार गरेका छन । ओली पक्षले पार्टीको विधान संशोधन गरेर केन्द्रीय समिति विस्तार गरेको छ ।