१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दुवै नेकपालाई एकैठाँउमा आउन बामदेवको आग्रह

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७७, शनिबार ०६:३२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वामदेव गौतमले पार्टीका विभाजित दुवै पक्षलाई लडाइँ बन्द गरेर पुनः एकठाउँमा आउन आग्रह गरेका छन् । शनिवार एक विज्ञप्ति जारी गर्दै नेकपाका उपाध्यक्ष समेत रहेका गौतमले कार्यकर्तालाई पार्टी पुनःएकीकरणका लागि शीर्ष नेतालाई दवाब दिन आग्रह गरेका हुन् ।

नेकपाका नेताहरुले कम्युनिष्ट आन्दोलन र कार्यकर्ताको भावनाविपरीत पार्टी विभाजन गर्न लागेकोप्रति गौतमले चिन्ता समेत प्रकट गरेका छन् । अन्तरविरोधहरुको समाधान गर्न नसक्दा नेकपा विभाजन नजिक पुग्न शीर्ष नेताहरुको अयोग्यता भएको उनले उल्लेख गरेका छन् ।

अविश्वास प्रस्ताव र प्रतिनिधिसभा विघटन दुबै गलत भन्दै उनले पुनःएकीकरणमा जोड दिएका हुन् । लडाइँ बन्द गरेर पुनर्मिलन गर्न र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढंगबाट हल गर्न उनको आग्रह छ ।

नेता गौतमले सरकार सञ्चालनको एउटा कार्यकाल पुरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि ब्यतित नहुँदै नेकपा विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद र पीडादायी भनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस पाँच गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहका विभाजित छ । पार्टी विभाजन नदिन गौतमले पुनःएकीकरणका लागि अभियान नै चलाएका छन् ।

संसद विघटनसँगै नेकपा विभाजित भए पनि हालसम्म गौतम तटस्थ छन् । उनले माघ एक गते एकता अभियान घोषणा गर्दैछन् । त्यसका लागि ५ सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गर्ने तयारी छ ।