१३ बैशाख २०८१, बिहीबार
Follow Us

शीर्ष तीन दलका नेताहरु छलफलमा

नेपालब्रिटेन डट कम्
१३ पुष २०७३, बुधबार ०५:१७

काठमाडौं । जारी राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुले छलफल तीब्र बनाएका छन् । निकासका लागि भन्दै सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले सामुहिक पहल सुरु गरेका हुन् ।
संविधान संशोधन विधेयक दर्ता भएको झण्डै एक महिनापछि राजनीतिक निकासका लागि मधेशी मोर्चासँग हिजो छलफल गरेका दुई दलले आज प्रमुख प्रतिपक्षी एमालेसँग परामर्श गर्दैछन् । अहिले विहान ११ बजेपछि सिंहदरवारमा बस्ने बैठकमा संविधान संशोधन विधेयक, निर्वाचनको मिति लगायत बिषयमा सहमतिको पहल हुने नेताहरुले बताएका छन् । आजको बैठकमा सत्तारुढ दलले तीनै तहको निर्वाचनको मिति सहितको कार्य तालिका प्रस्ताव गर्ने तयारी गरेका छन् ।
दलहरुबीच पछिल्लो समय पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्नेबारे छलफल चलेपनि निश्कर्षमा भने पुगेको छैन । संसदमा प्रतिनिधित्व गर्ने ठूला ७ दललाई बोलाएर सभामुख ओनसरी घर्तीले गत सोमवार संसदीय गतिरोध अन्त्यका लागि गम्भीर बन्न आग्रह गर्नुभएको थियो । संशोधन विधेयक फिर्ताको माग गर्दै एमाले सहितका प्रतिपक्षी दलहरुले गत मंसिर १६ गतेदेखि लगातार संसद बैठक अवरुद्ध पार्दै आएका छन् । एमालेले संविधान संशोधन विधेयक फिर्ता नभएसम्म अन्य कुनै बिषयमा सहमति जनाउन नसक्ने बताईरहेका समय कांग्रेस र माओवादी केन्द्रले स्थानीय निर्वाचनलाई प्राथमिकतामा राखेर कार्यतालिका प्रस्ताव गर्न लागेका हुन् ।