१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘पुर्खाको त्यागको जगमा निर्माण भएको राष्ट्र समुन्नत बनाउने दायित्व हाम्रो काँधमा’

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७७, सोमबार ०५:४०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व काँधमा आएको बताएकी छिन् ।

२९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिँदै उनले एकता दिवसले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी हुन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको जनाएकी छिन् ।

त्यस्तै बहुलताबीच सद्भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास सन्देशमा व्यक्त गरिएको छ ।

दिवसले सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गरी आत्मनिर्भर र समाजवादोन्मुख सुदृढ अर्थतन्त्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीको छ ।

सन्देशमा नेपालको भूअवस्थितिको आत्मबोध गर्नुभएका पृथ्वीनारायणले राष्ट्रलाई सुदृढ र समृद्ध बनाउन तथा मुलुकको अविच्छिन्न एकतालाई बलियो बनाइराख्न सदा स्मरणीय सन्देश छाडेर राष्ट्रनिर्माताले छाडेको उल्लेख छ ।