७ बैशाख २०८१, शुक्रबार
Follow Us

पृथ्वी जयन्ती मनाउँदा सिंहदरबार अगाडि झडप

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७७, सोमबार ११:०५

काठमाडौँ । पृथ्वीनारायण शाहको प्रतिमा रहेको सिंहदरबारको पश्चिम गेट क्षेत्र तनावग्रस्त बनेको छ । सो क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिको आह्वानमा प्रतिमामा माल्यार्पणका लागि सिंहदरबार पश्चिम गेट तर्फ र्‍यालीसहित गएका सहभागीहरुलाइ प्रहरीले रोक्न खोज्दा सहभागी सर्वसाधारण र प्रहरीबीच झडप भएको छ ।

सिंहदरबारको पश्चिम गेट क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सो क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ । प्रहरीले सो क्षेत्रका तैनाथी बढाए पनि सहभागी रोकिएका छैनन् । प्रहरीले रोक्न खोजेको छ भने सहभागीहरु अघि बढ्न खोजिरहेका छन् ।

प्रतिमा भएको क्षेत्रमा एक समूह प्रवेश दिइए पनि अरु समूहलाई बिच सडकमै रोखिएको छ । सहभागीले प्रहरी विरुद्ध नाराबाजी गरेका छन् । सो क्षेत्रमा आवातजावत गर्न पूर्ण रुपमा रोक लगाइएको छ। सडकपेटीमा हिँड्नेहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ। प्रहरीको लाठी प्रहारबाट केहीको टाउकोमा चोट लागेको छ ।

नागरिक तहबाट आज पुस २७ गते हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि समितिले कार्यक्रम गरेको हो । यो अभियानमा अभिनेत्री मनिषा कोइराला, रमेश खरेल तथा भरत बस्नेतसहितको सक्रिय सहभागिता रहे पनि प्रहरीले कोइरालासहितको टोलीलाई पनि अघि बढ्न दिएको छैन ।