१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘कोरोना खोप कार्यक्रमका लागि ५ हजार कर्मचारी, ५२ हजार स्वास्थ्य स्वंयसेविका परिचालन गरिने’

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७७, सोमबार ११:१५

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपका लागि ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हृदयेश त्रिपाठीले खोप कार्यक्रमका लागि १६ हजार खोप केन्द्र बनाउने बताएका हुन् ।

खोप आयातका लागि विभिन्न कार्यहरु भइरहेको उल्लेख गर्दै मन्त्री त्रिपाठीले ढुक्क हुन आग्रह गरे । उनले भने, ‘हामी खोपसँग सम्बन्धित विभिन्न कार्य गरिरहेका छौं, ढुक्क हुनुहोस् खोप आउँछ ।’

‘आफूले भारत, रुस र यूएईका राजदूतसँग कुराकानी गरेको भन्दै उनले कोरोना खोपका लागि राजनीतिक प्रभावहरुलाई समेत प्रयोग गरिरहेको बताए । ‘खोप छिटोभन्दा छिटो अरु सरह नै ल्याउने प्रयास भइरहेको छ’ उनले भने ।

मन्त्री त्रिपाठीले खोप प्राप्त गरेको ७ दिनभित्रै खोप कार्यक्रम सुरु गर्न तयार रहेको बताए । त्यस्तै,निजी क्षेत्रलाई पनि खोप ल्याउनका लागि अनुमति दिइने उनले बताए । ‘हामी निजी क्षेत्रलाई पनि खोप ल्याउनका लागि रोक्‍ने मनिस्थितीमा छैनौँ’, मन्त्री त्रिपाठीले भने, ‘पहिला सरकारले ल्याउँछ त्यसपछि निजी क्षेत्रका बारेमा निर्णय हुनेछ ।’