१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रचण्ड–माधव समूहद्वारा प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ सांसद निलम्बित

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७७, मंगलवार ०५:१८

विराटनगर । नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ सांसदलाई निलम्बित गरेको छ । प्रदेश प्रमुख राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूहले राईसहितका प्रदेशसभा सदस्यहरुलाई तीन महिनाका लागि निलम्बन गरेको हो ।

मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीन जना सांसदहरुलाई निलम्बन गरिएको हो । निलम्बनमा पर्नेमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्की छन् ।

निलम्बनको जानकारी आइतबार नै प्रदेशसभामा आएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताएका छन् । बुधबार प्रचण्ड–माधव समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यले मुख्यमन्त्री शेरधन राईसहित आठ जनालाई संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टीको हितविपरीत काम गरेको भन्दै २४ घण्टे स्पष्टीकण सोधेको थियो । स्पष्टीकरण सोधेको चार दिनपछि निलम्बन गरिएको जनाइएको छ ।

प्रचण्ड–माधव समूहका ३७ सांसदले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । पुस १५ गते मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई दलको नेतामा चयन गरिएको थियो । पुस १९ गते बसेको संसदीय दलको बैठकले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई हटाएको थियो ।