११ बैशाख २०८१, मंगलवार
Follow Us

दाहाल–नेपाल समूहको आज तीनवटा प्रदेशमा बृहत् कार्यकर्ता भेला

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७७, मंगलवार ०५:२०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले आज मंगलबार प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गर्दैछन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको दाहाल–नेपाल समूहले थप ३ वटा प्रदेशमा बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त समूहले सोमबार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो ।

प्रतिनिधिसभा विघटनबारे कार्यकर्तालाई अभिमुखिकरण गरी जनस्तरसम्म प्रचारप्रसार गर्न यसप्रकारको कार्यक्रम आयोजना गरिएको केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् । दाहाल–नेपाल समूहले बुधबार बागमती प्रदेशमा बृहत कार्यकर्ता भेला गर्दैछ ।

प्रतिनिधिसभा विघटनसँगै पार्टी विभाजित भएपछि निरन्तर संघर्षका कार्यक्रम गरिरहेको उक्त समूहले दोस्रो चरणमा आगामी माघ २३ गतेसम्मका लागि संघर्षका कार्यक्रम तय गरेको छ ।