७ बैशाख २०८१, शुक्रबार
Follow Us

जनतालाई भेडाबाख्रा नठान्न ओलीलाई दाहालको चेतावनी

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७७, मंगलवार १२:०८

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले पार्टीभित्र विवाद भयो भनेर सार्वभौम संसदमाथि प्रहार गरेको बताएका छन् । नेकपा दाहाल–नेपाल पक्षले पोखरामा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले पार्टी भित्र विवाद भयो भनेर सार्वभौम नेपाली जनताले चुनेर पठाएको सार्वभौम संसदमाथि प्रहार गर्ने कहीँकतै नहुने भन्दै यसको जवाफ दिनसक्ने र कहीँकतै बोल्ने ठाउँ नै नभएको बताएका छन् ।

सत्ता र शक्तिको प्रयोग गरेर मानिसहरुलाई धम्काउने, तर्साउने तथा पार्टी एकताको मर्म र भावनामाथि प्रहार गर्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको प्रचण्डको आरोप छ। हिजोका दिनमा नेपालमा गणतन्त्र सम्भव छैन भन्ने ओलीलाई आफ्नो स्वामित्व भएन भनेर गणन्तन्त्रमाथि घात गर्ने छुट नभएको प्रचण्डको भनाइ छ।

दाहालले नेकपाको बहुमत केन्द्रीय सदस्य आफूसँग रहेकाले पार्टीको नाम र सूर्य चिन्ह नपाउनेमा दुविधा नपाल्न आग्रह गरे। उनले अहिलेको कानुनले स्वतः आधिकारिकता आफ्नो पक्षले पाउने र नपाएमा आँधीबेहरी ल्याउने चेतावनी दिए।

यस्तै प्रचण्डले जबज माधव नेपालले नभई प्रधानमन्त्री केपी शर्मा ओलीले नै छोडेको दाबी गरेका छन्। यो पुष्टिका लागि आफूसँग प्रमाणहरु रहेको दाबी गरेका दाहालले पार्टी एकता अन्तिम चरणमा पुगेका बेला नेपालले जबजबारे अझै छलफल गर्नुपर्छ भन्ने उद्देश्यसहित कार्यक्रम राख्न चाहेपनि ओलीले त्यसमा रोक लगाएको बताए। त्यसपछि पार्टीको तात्कालिक कार्यक्रम जनताको जनवाद राखिएको दाहालको भनाइ छ।

यस्तै प्रधानमन्त्री ओलीले जनयुद्धलाई कुहिएको फर्सी भन्दै गरेको टिप्पणीलाई लिएर पनि दाहालले आपत्ति जनाएका छन्। उनले हजारौँ सहिदहरुको बलिदान, त्याग र तपस्यालाई ठट्टा नठान्न पनि बताए ।
प्रचण्डले हास्यव्यंग्य गरेर मान्छेलाई प्रहसन गराएर दुनियाँलाई उल्लू बनाउन र जनतालाई भेडाबाख्रा नठान्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी पनि दिएका छन्।