७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेशनल मेडिकल कलेजविरुद्ध डा. केसीको आक्रोस

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७७, मंगलवार १२:१७

काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजविरुद्ध सामाजिक अभियान्ता डा. गोविन्द केसी आक्रोस व्यक्त गरेका छन् । उक्त मेडिकल कलेजले दलित विद्यार्थी रामजी राम र पंकजकुमार रामलाई परीक्षा दिन रोकेपछि डा. केसीले आक्रोस व्यक्त गरेका हुन् ।

डा. केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘वीरगन्जस्थित नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीले अवैध रकम असुली गर्नका लागि विद्यार्थीहरु रामजी राम र पंकजकुमार रामको परीक्षा रोकेको घटनाको हामी कडा निन्दा गर्छौं ।

मेडिकल क्षेत्रको माफियाकरण गर्ने मुख्य पात्रहरु मध्ये एक अन्सारी प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा संरक्षित मेडिकल कलेज संचालक र नेकपा नेता रहेको कसैबाट लुकेको छैन । उनको यस्तो अराजक गतिविधिप्रति चिकित्सा शिक्षा आयोग र त्रिवि आइओएमले देखाएको कमजोर व्यवहारप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

नियामक निकायलाई नेटेर्ने तथा अवैध असुली गर्ने कलेजहरुको सम्बन्धन खारेजसम्मको निर्णय गर्ने अधिकार र जिम्मेवारी लिएका निकायहरुले खाली कागजी निर्णय मात्रै गर्ने र तिनलाई कार्यान्वयन गराउन नसक्ने लाजमर्दो अवस्थाको तत्काल अन्त हुनुपर्छ ।

त्यसैले भोलिदेखि दुवै विद्यार्थीको सबै विषयको परीक्षा सुचारु गराउन, हिजो छुटेको विषयको विशेष परीक्षा लिने व्यवस्था गराउन तथा नेशनल मेडिकल कलेज लगायत अवैध रुपमा थप शुल्क असुल गर्ने मेडिकल कलेजहरुको सिट कटौतीदेखि सम्बन्धन खारेजसम्मको प्रक्रिया अघि बढाउन त्रिबि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) र चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराउँछौं, विज्ञप्तिमा भनिएको छ ।