१३ बैशाख २०८१, बिहीबार
Follow Us

संवैधानिक इजलासमा सपना प्रधान मल्ल

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७७, बुधबार ०७:२५

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । रिटको सुनुवाइ गर्न अदालतले आज नयाँ संवैधानिक इजलास बनाएको छ ।

यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेका हुन् । न्यायाधीश हरिकृष्ण कार्कीमाथि वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले ‘मुद्दा नहेर्ने’ भन्दै इजलास छाडेका थिए ।

इजलासमा यसअघि रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको छ ।

विघटनविरुद्धका मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद भने कायमै छ । रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका छन् ।

पुस १० गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले पुस १९ गते महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन् ।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधि सभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।

त्यस्तै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटनसम्बन्धी सम्पूर्ण काम कारवाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्य उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न पनि माग गरिएको छ ।