१५ बैशाख २०८१, शनिबार
Follow Us

भाइको सेतो कपडा देखेपछि बुबा ढल्नुभो

नेपालब्रिटेन डट कम्
१३ पुष २०७३, बुधबार ०७:४०

दुर्गालक्ष्मी श्रेष्ठ, समाजसेवी
लामो समय शिक्षण पेसामा आबद्ध चितवनकी दुर्गालक्ष्मी श्रेष्ठ हिजोआज निकै व्यस्त छिन् । २५ वर्षअघि ६ जना मिलेर खोलेको संस्था नारी उत्थान केन्द्र चितवनको रजत महोत्सवको समापनको तयारीका लागि उनी व्यस्त भएकी हुन् । केन्द्रमा अहिले एक सय १२ साधारण सदस्य छन् भने ९९ जना आजीवन सदस्य छन् । आईएसम्मको अध्ययन गरेकी दुर्गालक्ष्मीले व्यापारी बुबा र सासूको प्रेरणाले समाजसेवामा हात बढाएकी हुन् । उनी डेढ दर्जन जति सामाजिक संघ–संस्थामा आवद्ध छिन् । नारी उत्थानको संस्थापक सदस्य, पूर्वअध्यक्ष र रजत महोत्सवको मूल समिति संयोजक दुर्गालक्ष्मीसँग सिर्जना अर्यालले गरेको कुराकानी:

० निकै व्यस्त देखिनुहुन्छ नि ?
– नारी उत्थानले यस वर्ष रजत महोत्सवको सन्दर्भमा विभिन्न कार्यक्रम गरिरहेको छ । महोत्सव समापनको दिन पनि आइसक्यो, मूल समिति संयोजक भएकाले धेरै जिम्मेवारी बहन गरेनु परेकाले फुर्सद नदेखिएको हो ।

० रजत महोत्सव मनाउन सक्ने अवस्थाम संस्था पुगेछ नि ?
– मुलुकमा भर्खर प्रजातन्त्र आएको थियो । सामाजिक संस्था खोल्ने अधिकार सबैलाई थियो । महिला संगठित हुनुपर्छ, एकताले नै असमानता चिर्न सक्छ, दिदीबहिनीहरूलाई सामाजिक क्षेत्रमा पनि अग्रसर गराउनुपर्छ, सीपमूलक कार्यक्रममार्फत आर्थिक क्षेत्रमा पनि महिलालाई सशक्त बनाउनुपर्छ भन्ने उद्देश्यको आधारमै संस्था जन्माइएको हो ।

० संस्था स्थापना गर्दा कतिजना हुनुहुन्थ्यो ?
– हामी ६ जना भएर खोलेका हौं । अहिले एक सय १२ जना साधारण सदस्य हुनुहुन्छ । ९९ जना आजीवन सदस्य छन् ।

० रजत महोत्सव लक्षित कार्यक्रमबारे भनिदिनुहोस् न ?
– रजत महोत्सवका लागि धेरै कार्यक्रम आयोजना गरियो, केही सम्पन्न हुन बाँकी छन् । महोत्सवकै लागि हामीले एक सय ७७ सदस्यीय मूल समिति चयन गरेका छौ । १५ सदस्यीय स्टेरिङ कमिटी पनि बनाइएको थियो । आर्थिक उपसमिति, स्मारिका प्रकाशन उपसमिति, कार्यक्रम व्यवस्थापन समितिलगायत आठवटा उपसमिति बनाएका छौ । ती समितिमार्फत नै साउनमा वृक्षरोपण कार्यक्रम, साई भजन कार्यक्रम गरियो । भदौमा प्रवचन, तीज र बालकुमारी उमाविका छात्राबीच वक्तृत्वकला कार्यक्रम सम्पन्न ग¥यौं ।

० अरु कुन कुन सामाजिक संस्थामा आबद्ध हुनुहुन्छ ?
– धेरैमा छु, सामाजिक अपराधविरुद्धको अभियान समन्वय समिति, नेत्रज्योति संघ चितवन, परिवार नियोजन संघ, कला मन्दिर, रेडक्रस चितवनलगायत धेरै संस्थामा आबद्ध छु ।

० कसको प्रेरणाले सामाजिक संघ–संस्थामा लाग्नु भयो ?
– बुबा हरिलाल श्रेष्ठकै प्रेरणाले सानैदेखि दुःखी–गरिबलाई माया गर्नुपर्छ भन्ने भाव जागेको हो । बुबा व्यापारी भइकन पनि घरमा आउनेलाई विमुख पठाउनु हँुदैन, माग्न आएकालाई खाली हात पठाउनु हुँदैन भन्नुहुथ्यो । घरमा पनि मेरो साू नन्दकुमारी श्रेष्ठले सामाजिक क्षेत्रको मेरो लगावलाई मर्न दिनु भएन । बालबच्चा, विद्यालय र घर सबै व्यवस्थापन गर्न सक्नुमा सासूआमाको सहयोग नै हो । उहाँको सहयोगविना असम्भव थियो । श्रीमान् पनि सामाजिक भावनाको हुनुहुन्छ, आफैं पनि समाजसेवामा सक्रिय हुनुहुन्छ ।

० श्रीमान् के गर्नुहुन्छ नि ?
– मेरो श्रीमान् राजकुमार श्रेष्ठ पनि म जस्तै रिटायर्ड हुनुभएको छ । उहाँ लामो समय परिवार नियोजन संघमा प्रमुखको भूमिकामा हुनुुहुन्थ्यो, पछि विश्वकर्मा सिमेन्टको जिएम पनि हुनुभयो । हाल सामाजिक संस्थामै हुनुहुन्छ । उहाँ लायन्स क्लब अफ इन्टरनेसनल ३२५(बी)२०११ र १२को डिस्ट्रिक गभर्नर पनि हो । सुस्त मनस्थिति केन्द्र र बुबाआमाको नाममा स्थापित नन्दकुमारी–रणबहादुर प्रतिष्ठानमार्फत सामाजिक अभियानमा पनि सरिक हुनुहुन्छ ।

० विवाह कहिले गर्नुभयो ?
– हाम्रो विवाह २०३५ सालमा भएको हो । त्यतिखेर भर्खर एसएलसी दिएकी थिएँ । उहाँ पनि त्यसबखत बालकुमारी हालको उच्चमाविको अंग्रेजी शिक्षक हुनुहुथ्यो । विवाहपछि पढ्न दिने बुबाले सर्त राखी हाम्रो विवाह गरिदिनुभएको थियो । विवाहपछि कलेज पढ्न, जागिर खान र सामाजिक कार्यमा लाग्न पाएँ ।

० घरमा अरु को को हुनुहुन्छ ?
– हाम्रो एक छोरी, दुई छोरा छन् । छोरा एरोनेटिक र ठूली छोरी आर्किटेक इन्जियनर हुन् । दवै अमेरिकामा छन् । सानी छोरी एनसीसी बैंकको मेनेजर हो । छोराछोरी सक्षम बनाउन हामीले धेरै लगानी ग-यौं । हामीले पैसालाई कति महत्व दिएनौं । उनीहरूलाई पैसा खर्च गरेर पढाएका हौं । हाम्रो लगानी उनीहरूले पनि खेर फालेनन् । राम्रो गरेका छन् ।

० विदेश कति जानुहुन्छ ?
– मैले ३४ वर्ष पढाएर छाडेको दुई वर्ष भयो । अवकाशपछि ६ महिना नेपाल, ६ महिना अमेरिका बसाइ हुन्छ । यो रजत महोत्सवले मात्र अहिले रोकिएको हो ।

० जीवनमा बिर्सनै नसक्ने कुनै क्षण ?
– मेरो बुबा विरामी भएर वीर अस्पतालमा उपचाररत हुनुहुथ्यो । आमा बुबालाई भेट्न् जाने क्रममा दुर्घटनामा परेर भएर बित्नुभयो । आमाको काजकिरिया सकेर १४ दिनपछि भाइ बरखीको सेतो पोसाकमा बुबा भएको ठाउँमा गएको थियो । भाइ देख्नेवित्तिकै एकोरिएर बुबा त्यहीँ लड्नुभयो । बुबाको पनि तत्काल मृत्यु भयो । हामीले एक महिनामै बुबाआमा गुमायौं । यस्तो पीडा र दुःख सायदै कसैलाई पर्छ । हामी पाँच सन्तान हौं । म सबैभन्दा ठूली । मेरो र ठूलो भाइको मात्र विवाह भएको थियो । अरु दुई भाइ राजु, सुभाष र बहिनी सानै थिए ।

० माइती पनि चितवनमै हो ?
– हुन त पहिला हेटौंडा हो, म एक वर्षको हुँदा बुबा व्यापारको सिलसिलामा चितवन आउनुभयो । र, यहीँ बस्न थाल्यौं ।

० अब बाँकी जीवन ?
– सामाजिक क्षेत्र हामी दुवैको मनपर्ने क्षेत्र हो । विगतदेखि नै अनाथ, दुःखी गरिब, अशक्त देख्दा मन कुँडिन्थयो, केही गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । मैले विद्यालयबाट आउने तलब बाँडेर सक्थे । आफू आबद्ध संघ–संस्थामा जिम्वेवारी निभाउनु पनि छ । अन्य सामाजिक कार्यमा पनि क्रियाशील हुन्छु होला ।