७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा स्वास्थ्य संकट : एकैदिनमा १५६४ को मृत्यु, बिरामी होटलमा सार्न थालियो

नेपालब्रिटेन डट कम्
१ माघ २०७७, बिहीबार ००:५६

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा थप एक हजार ५६४ जनाको मृत्यु भएको छ ।

एकैदिनमा यतिका धेरै मृत्यु भएको बेलायतमा कोरोना महामारी भएयताकै सबैभन्दा बढी हो । यसअघि गत शुक्रबार एक हजार ३२५ जनाको मृत्यु भएको भएको थियो । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सनाख्या ८४ हजार ७६७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४७ हजार ५२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३२ लाख एघार हजार ५७६ पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । बुधबारसम्ममा ३० लाख ६७ हजार ५४१ जनालाई खोप वितरण गरिसकिएको स्वास्थ्य विभागले जनाएको छ ।

जसमध्ये २६ लाख ३९ हजार ३०९ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख २८ हजार २३२ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् । अस्पताल भर्ना हुने कोरोना संक्रमितको संख्या बढेपछि हाल उपचारार्थ अस्पतालमा रहेका बिरामीलाई निर्धारित समय अगाडि नै होटल तथा घर पठाउन शुरु गरिएको छ ।

कोरोना संक्रमणका कारण ‘क्रिटिकल’ अवस्थामा रहेका बिरामीको लागि आवश्यक बेड खाली गराउन अन्य बिरामी होटेल सार्ने वा चाँडै घर पठाउने गरिएको हो । बेलायतमा महामारीको पहिलो लहर चलेको समयको तुलनामा हाल दुई गुणाभन्दा बढी कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने यो संख्या दैनिक रुपमा तीव्र दरमा बढ्दै गइरहेको छ ।

हाल बेलायतका अस्पतालमा ३६ हजार भन्दा बढीको उपचार भइरहेको छ । हाल बेलायतमा बढेको कोरोना संक्रमणका कारण बेलायतवासी नेपालीहरु पनि प्रभावित बन्दै आएका छन् । विगत केहि दिनयता कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या पनि बढ्न थालेको छ ।