८ बैशाख २०८१, शनिबार
Follow Us

ओलीले चुनाव गराउँदैनन् : देउवा

नेपालब्रिटेन संवाददाता
१ माघ २०७७, बिहीबार १३:३६

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने कुरामा विश्वास नलागेको बताएका छन्। बिहिबार पर्वत शंकर पोखरीमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभामा बोल्दै देउवाले प्रजातन्त्रलाई नै खतरा हुने गरी प्रतिनिधि सभा भंग गरेका प्रधानमन्त्री ओलीले चुनाव नगराउने बताएका हुन् ।

ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको देउवाको भनाइ छ। सर्वोच्चमा विचाराधीन रहेको मुद्दाबारे सडकमा आन्दोलन गरेर यो गर वा ऊ गर् भन्ने दबाव कांग्रेसले नदिने उनले प्रष्टाए ।

प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव घोषणा गरेका छन्। तर प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

घर–घरमा पुगेर जनताको दुख सुखमा साथ दिन सभापति देउवाले नेता कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘जनताको घरमा दोहर्याई तेहर्याई जानुहोस्, तपाईँहरुलाई जनताले भोट हाल्छन् ।’ प्रतिनिधिसभा पुनःस्थापना भएपनि जनताको सेवा गर्दा खेर जाँदैन, चुनाव त ढिलो चाँडो भइहाल्छ नि !’

अहिले कम्युनिष्ट सरकारले जनतालाई धेरै दुख दिएको सभापति देउवाले बताए । जनताले तिरेको करबाट तलव खाएर पार्टीको काम नगर्न कर्मचरीलाई उनले आग्रह गरे । कर्मचारीले कुनै पार्टीको तवल खाएका होइन, सभापति देउवाले भने, ‘कर्मचारीले जनताको करबाट तलव खाएका हुन् उनीहरुले जनताको काम निष्पक्ष रुपमा गर्नुपर्छ ।’ जनताको पक्षमा काम नगर्ने कर्मचारीको कांग्रेसले लेखाजोखा राख्ने सभापति देउवाको भनाइ थियो ।