February 26, 2021
3:20 AM | 9:05 AM
अन्तर्वार्ता

साहित्य भनेको गति, सिर्जनशीलता र अग्रगमन हो

  06/07/2016 मा प्रकाशित

डा. नवराज लम्साल ।
रेडियोकर्मी डा. नवराज लम्साल हालै सम्पन्न नेपाली लेखक संघको अध्यक्षमा निर्वाचित भएका छन् । मीठो स्वरका धनी लम्साल रेडियो नेपालका निर्देशक, बीबीसी नेपाली सेवा र पे्रस युनियनको उपाध्यक्ष भइसकेका छन् । उनी भन्छन्, म सञ्चार तथा साहित्यकर्मी हुँ । लेख्छु, रेडियोमा कार्यक्रमहरू उत्पादन गर्छु । नेपाली लेखक संघको अध्यक्षका रूपमा लेखन स्वतन्त्रता र लेखकीय उच्च मर्यादाका निम्ति अब झन् सक्रिय रहनेछु । नेता हुन हैन, लेखनमैत्री वातावरण बनाउन, स्रष्टाहरूको सम्मान गर्न, लेख्नका लागि अभिपे्ररित गर्न र लेखन सत्ताको विवेकपूर्ण बहस अघि बढाउन म प्रयत्नरत रहनेछु । यिनै विषयमा डा. लम्सालसँग गरिएको कुराकानी–
० कुनै समयको प्रतिष्ठित नेपाली लेखक संघ झोलामा सीमित रहेकोमा आलोच्य थियो, कार्यालय स्थापना गर्नुभयो होइन ?
– देशभरिका लेखकहरूको अपेक्षा र केन्द्रीय समितिको प्रतिबद्धता थियो त्यो । कार्यालय नभएर काम सुरु गर्न पाएका थिएनौँ, अब सुरु भएको छ । पहिलो कार्यक्रम नै लेखकीय स्वतन्त्रता र लोकतान्त्रिक लेखनबारेको बहसमाथि केन्द्रित भयो । यो विचार र सिर्जनाको संगठन हो र यसैअनुरूप अघि बढाउने सोचमा छु म । एउटा प्रतिष्ठित, ऐतिहासिक संगठनको निर्वाचित अध्यक्ष भएका नाताले खुसी छु । तर, लोकतान्त्रिक स्रष्टाहरूको खोजी, भएकाहरूको सम्मान र लेखकीय स्वतन्त्रता र धारको पहिचान गर्दै उनीहरूलाई संगठित गर्ने चुनौती हामीसामु छ ।
० तपाईँले हरेक अन्तर्वार्ता र भाषणमा प्रायः विचार र सिर्जनाको कुरा उठाउनु भएको छ, किन ?
– यस संघका सदस्यहरू नै विचारवान् लेखकहरू हुन् । लेखक हुनु भनेको वैचारिक हुनु हो । सिर्जनशील र स्वाभिमानी हुनु हो । संवेदनामा खेल्न नजान्नेहरू कसरी लेखक हुन्छ र ? विचार, संवेदना, शिल्प र स्वाभिमान जस्ता सन्दर्भकै जगमा उठ्छ एउटा राम्रो लेखक । नेपाली लेखक संघका सदस्यहरू शब्दका भरिया र कसैका करिया नबनून् भन्ने हाम्रो विचार हो । उनीहरू विचार र वैचारिक लेखनका उपल्ला सारथि बनून् । त्यसका लागि संघले कोसिस गर्नुपर्छ ।
० तपाईँले भनेजस्तो वैचारिक र संवेदनशील स्रष्टा कति छन् नेपाली लेखक संघमा ?
– अंक गणितकै भाषामा ठ्याक्क उत्तर त मसँग छैन, तर संघलाई वैचारिक बाटोमा लैजाने र लेखनको वातावरण बनाउने जिम्मा अध्यक्षका हैसियतले मेरो र सम्पूर्ण केन्द्रीय कार्यसमितिको हो । केन्द्रीय समितिमा राम्रा र खारिएका साथीहरू हुनुहुन्छ । कति त मभन्दा धेरै पाका र अग्रज स्रष्टाहरू पनि हुनुहुन्छ । उहाँहरूसँगको साथ, सल्लाह र सहयात्राले हामी सफल हुन्छौँ भन्ने विश्वास छ ।
० निर्वाचनको तुस बाँकी छैन ?
– निर्वाचन एउटा खेल हो, खेलियो सकियो । अब म सबैको अध्यक्ष हुँ । फेरि यो त स्रष्टाहरूको संस्था हो । स्रष्टा उदात्त हुनुपर्छ र पूर्वाग्रहबाट मुक्त हुनुपर्छ । मलाई कसैप्रति पूर्वाग्रह पनि छैन र कुनै प्रतिशोध लिनु पनि छैन । कसैले विरोध गर्छ र त कसैले माया गर्छ । चुनावको प्रतिस्पर्धा क्षणिक हो, खास प्रतिस्पर्धा त लेखनीमा गर्नुपर्छ ।
० तपाईँ साँच्चै उदार भएको हो कि डा.लम्सालको चतु¥याइँपूर्ण जवाफ हो यो ?
– (हाहा…हा) वाक्पटुता हैन, मनकै कुरा हो यो । देशका ठूल्ठूला साहित्यिक पुरस्कारका लागि मेरा नाममा टिपेक्स लगाउनेहरूलाई त म उत्तिकै श्रद्धा र माया गरिरहेछु । उनीहरू ठान्दा हुन् नवराजलाई केही थाहा छैन, तर मैले चिनेको छु त्यस्तालाई । सानातिना कुरामा अल्झिने फुर्सद छैन मलाई र यथास्थितिमा अल्झिरहन पनि चाहन्न । साहित्यमा लाग्नु भनेकै गति, सिर्जनशीलता र अग्रगमन हो । अँध्यारो मन हुनेहरूले सफा विचार लेख्न सक्दैनन् । त्यही हो तिनका लागि सजाय । सरस्वतीका उपासक सबैलाई सरस्वतीले माया गरुन्, उहाँहरूलाई शुभकामना दिन्छु ।
० तपाईंलाई पाकाहरूले हामी प्रा.डा.हरू, प्राज्ञहरू, उमेर पुगेकाहरू हुँदाहुँदै किन भनेनन् ?
– त्यसो भन्नेहरूको भोट मलाई माया गर्नेहरूको भन्दा कमै प¥यो । मैले चुनाव जितेँ, सकियो । बैगुनीलाई गुनले जित्ने हो, उहाँहरूसँग पनि मिलेरै काम गर्छु । सानो मन गर्नुहुन्न, बीपी ३६ वर्षमा गृहमन्त्री हुनुभएको थियो, ४४ वर्षमा प्रधानमन्त्री हुनुभयोे, तर आज यहाँ ५० वर्षको मान्छे नेविसंघको राजनीति गरिरहेछ, तपाईँ के भन्नुहुन्छ ? देवकोटा जम्मा ५० वर्ष बाँचे, मोतीराम भट्ट ३० वर्ष । उमेर केही हैन, क्षमता, सक्रियता र समन्वय क्षमता ठूलो कुरो हो । तन्नरी पुस्ताको भरोसा मप्रति छ, यसलाई म सम्मान गर्दछु । लेखक संघको अध्यक्ष हुँदैमा भयंकर भएँ भन्ने सोचेको पनि छैन । सिक्ने पाठशाला हो, सिकिरहेको छु । लेखक संघमा बसेर अनुभव हासिल गर्ने हो, आफूले जानेको आउने पुस्तालाई बाटो देखाइदिने हो । र, पुस्ता हस्तान्तरणको प्रक्रिया पनि हो यो ।
० के छ तपाईँको नयाँ कार्यक्रम ?
– यो सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेजस्तो हैन, संघ÷संगठनका कार्यक्रमहरू । लेखन स्वतन्त्रता हाम्रो सीमा हो । बहुलता हाम्रो सम्पत्ति हो । सिर्जनशीलताविना लेखनको यात्रा दिगो हुन्न । कहिलेकाहीँ त मान्छेहरू हावामा हिँडिरहेझैँ लाग्छ । दैनिक जीवनका अखबारी चिन्तालाई साहित्य भन्नेहरू पनि छन् । राजधानी बाहिर निख्खर रचनाका धेरै तन्नेरी छन्, तिनलाई चिन्नु छ र चिन्तनसहितको लेखनतर्फ उत्प्रेरित गर्नुछ । सधैं दाइ दाइ भनेर तिनकै ठेक्का हो साहित्य भन्ने पक्षमा म छैन । उमेर र संगत मात्रै ठूलो कुरा हैन, ठूलो कुरा क्षमता हो । अर्काले लेखेको कार्यपत्र वाचन गर्दै हिँडेर समालोचक भएको अत्मरति पाल्नेहरूको देश हो यो । कार्यपत्र फलानाले लेख्नु भा हो, उहाँ आउन नपाउनु भएर मैले वाचन गरिदिन लागेको भनेर सुगा हुन धाउँदा आत्मग्लानि नहुने प्राध्यापकहरूको देश हो यो । तिनलाई किन टेर्छु म ? दाइ पुस्ता हुन्, भेट्दा सादर नमस्कारसम्म भन्दिन्छु यत्ति हो । तर युवाहरूसँग अलि बढी अन्तक्र्रियात्मक हुन चाहन्छु ।
० नेपाली कांग्रेस निकट स्रष्टाहरूको संघ हो नि यो, हैन ?
– लोकतान्त्रिक स्रष्टा भन्नुस् न । लोकतन्त्रमा धेरै कुरा हुन्छन् । लोकतन्त्र हाम्रो आधार हो । लेखन र अभिव्यक्ति स्वतन्त्रताविना लेखनको वातारण बन्दैन । कांग्रेस स्वतन्त्रताको पक्षमा छ, वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ, बहुलता र विचारको विविधतालाई उसले स्वीकारेको छ । विचारको जगमा हामी सँगै भएका हौँ । सत्य कुरा के हो भने कांग्रेस हुनु एउटा कुरा हो, तर त्यसमाथि लोकतन्त्रवादी हुनुको मज्जा अर्कै छ । नेपाली लेखक संघ लोकतन्त्रवादी स्रष्टाहरूको संस्था हो । लोकतन्त्र गाई हो । गाई नै भएपछि दूध, दही, घिउ, मही सबै हुन्छ, तर मान्छेहरू यी सबै कुराको सम्पूर्ण स्रोत बिर्सेर मुद्दाका टुक्रे बहसमा हुन्छन् । म फेरि दोहो¥याउँछु– नेपाली लेखक संघ लोकतन्त्रवादी स्रष्टाहरूको संस्था हो ।
० कांग्रेससँग तपाईँको व्यक्तिगत मोह त निक्कै प्रगाढ छ नि ?
– धेरै नेताहरूसँग मेरो राम्रो सम्बन्ध भएको कुरा मेरा लागि गौरवको कुरा हो । तर, चुनाव जितेको रातो निधार लिएर कुनै नेताको दैलोमा पुगेको छैन र संघलाई कसैको दरबारको द्वारपाल बनाउने पनि छैन । हो निर्वाचन सकिएकै राति सुर्खेत रहनुभएका पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्काले फोन गरेर बधाई भन्नुभयो र अपनत्व देखाउनुभयो । भोलिपल्ट बिहानै पूर्वमहामन्त्री विमलेन्द्र निधिले फोन गरेर लामो कुरा गर्नुभयो । बीचमा नेता प्रदीप गिरीले लेखन स्वतन्त्रताका सम्बन्धमा धेरै अनुभव सुनाएर दीक्षित पार्नुभयो । ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसीलगायत केही थोरै नेताहरूले सम्पर्क गरेर चासो राख्नुभयो । यी नेताहरूप्रति आभारी छु । तपाईँले प्रश्नमा पटक पटक कांग्रेस भनिरहे पनि धेरै कांग्रेसीजनलाई लेखक संघ के हो भन्ने थाहै छैन । बरु केही गैरकांग्रेसी दलका नेताहरूले फोन गरे र लामो कुरा गरे अचम्म लागिरहेछ ।
० संघलाई पार्टीको शुभेच्छुक संस्था भनिन्छ नि ?
– अघिल्लो प्रश्नको उत्तरमै छ हाम्रो सम्बन्धको सीमा । हामीलाई कार्यकर्ताभन्दा कवि हुनुमा गौरव छ, तर हामीलाई लेखन स्वतन्त्रताको जग हालिदिने कांग्रेस हो भन्ने कुरा बिर्सन सकिन्न । लोकतन्त्रका लागि उसको लडाइँ र उसले दिएको वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको मैदान कसरी भुल्नू † परिवर्तनको मुद्दा राजनीति र लेखनको एउटै हो । लोकतान्त्रिक राजनीतिको आधार अग्रगमन हो, लेखनको सार पनि त्यही हो । मुद्दा र विचार एकै भएपछि बाँकी कुरा त साहित्यिक अर्थमै बुझ्नुस् न । तर हामीले सम्मान गरेझैँ उसले तपाईँहरू हाम्रो शुभेच्छुक हुनुहुन्छ भनेर कुनै चिर्कटोसम्म लेखिदिएको र कतै प्रतिनिधित्व गराएको कम्तीमा मलाई थाहा छैन ।
० अब तपाईँ पत्रकार, साहित्यकार कुन रूपमा परिचित हुन चाहनुहुन्छ ?
– पत्रकारिता वा सञ्चारकर्म मेरो पेसा हो । त्यहाँ जे गरेको छु इमानदारीपूर्वक गरेको छु । कविता मेरो अन्तरआवाज हो । कर्ण महाकाव्य आठ वर्ष लगाएर लेखेको हुँ । यसले आवश्यक चर्चा र ठाउँ पाएकै छ । २०६२-६३ को आन्दोलनको मर्म र कर्णको कथ्यलाई धेरैले जोडेर हेरे । त्यो मेरो सौभाग्य हो । अरु केही कविता संग्रह र गीत संग्रह छन् । धेरै गीतहरू रेकर्ड भएर प्रचार–प्रसारमा आएका छन् । केही पुस्तकहरू प्रकाशनको तयारीमा छन् । म मूलतः कविताकै मूलबाटोमा हुनेछु ।
० तपाईंले प्राप्त गर्नुभएको यो ख्यातिलाई भ¥याङ बनाएर राजनीतिमा जान खोजेको हो पनि भन्छन् नि ?
– गणेशमान सिंहबाहेक मलाई एउटा मान्छे देखाउनुुस् जसले अवसर आएर छोडेको होस् । म चाहिँ जान नहुने कारण के छ र ? तर त्यस्तो लोभ र अपेक्षाको रोडम्याप मसँग छैन । मूलतः साहित्य र सञ्चारमै रमाएको छु र यसैमा रमाइरहने छु । अहिलेलाई नेपाली लेखक संघलाई सुदृढ बनाउनेबाहेक अरु केही सोच र उद्देश्य छैन ।
० अन्त्यमा केही ?
कर्ण महाकाव्यबाट दुई श्लोक ः
खै कुन्नि कतिले पाए दुखान्त कर्णको गति
आफ्नै नेपालमा देखेँ ठ्याक्कै उस्तै विसंगति ।
……………………….
जसका निम्ति मरे सैयौँ हजारौँ रुखझैँ ढले
यो गणतन्त्र नेपाल भन्न पाउँ सगर्वले ।

प्रतिक्रिया