११ बैशाख २०८१, मंगलवार
Follow Us

स्वर्गीय पत्रकारका परिवारलाई सहयोग

नेपालब्रिटेन डट कम्
१३ पुष २०७३, बुधबार ११:३८

काठमाडौं । स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहोराका आफन्तलाई नेपाल पत्रकार महासंघ यूके शाखा र नेपाल अमेरिकी पत्रकार संघ (नेजा) ले सहयोग उपलब्ध गराएको छ । न्यौपानेलाई नेजाले ११ लाख रुपैयाँ र बोहोरालाई यूके शाखाले दुई लाख रुपैयाँ उपलब्ध गराएको हो । नेजाले उपलब्ध गराएको रकम नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले न्यौपानेकी श्रीमति राधिका उपाध्यायलाई हस्तान्तरण गरे भने यूके शाखाले उपलब्ध गराएको रकम बीबीसीका पत्रकार भगिरथ योगीले महासंघका अध्यक्ष डा. विष्टलाई हस्तान्तरण गरे । योगी यूके शाखाका सल्लाहकार हुन् ।

हस्तान्तरण कार्यक्रममा अध्यक्ष डा. विष्टले नेपाली पत्रकारिता जगतले हालै दुई युवा पत्रकार गुमाउनु परेकोमा दुःख लागेको बताए । यी दुई पत्रकारको उपचारका क्रमदेखि नै पत्रकार महासंघले सहयोग गरिरहेको स्मरण गर्दै अध्यक्ष डा. विष्टले भने, ‘पत्रकारको परिवार एक्लो छैन, महासंघ साथमा छ, हरेक अप्ठ्यारोमा महासंघले साथ दिनेछ ।’ नेजाले उपलब्ध गराएको सहयोग सञ्जयका सन्तानको शिक्षादीक्षामा खर्च होस् भन्ने चाहना महासंघको रहेको बताए ।

भूकम्प गएका बेला यूके शाखाले उपलब्ध गराएको रकमबाट महासंघले विपत तथा राहत कोष स्थापना गरेको जानकारी डा. विष्टले दिए । यूके शाखाले उपलब्ध गराएको १३ लाख रुपैयाँ वृद्धि भएर अहिले २७ लाख रुपैयाँ पुगेको छ, उनले भने, ‘पत्रकारलाई आइपर्ने अप्ठ्यारोमा महासंघले जुनसुकै बेला सहयोग उपलब्ध गराउन सक्छ ।’

यूके शाखाले यसअघि नेपाली पत्रकार तथा अन्य क्षेत्रमा पु-याएको सहयोगको फेहरिस्ता सल्लाहकार योगीले सहयोग हस्तान्तरण कार्यक्रममा सुनाएका थिए । आगामी दिनमा पनि यूकेबाट सहयोग जारी राख्ने उनले बताए ।

final-2