१९ बैशाख २०८१, बुधबार
Follow Us

भारतमा आजबाट कोरोनाविरुद्ध खोप अभियान सुरु

नेपालब्रिटेन संवाददाता
३ माघ २०७७, शनिबार ०५:४३

नयाँदिल्ली । भारतमा आजबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत सुरक्षा कर्मचारीलाई खोप दिइने जनाइएको छ ।

खोपका लागि ७०० जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुले तालिम समेतका आवश्यक जानकारी दिइएको छ ।

भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका २७ करोड व्यक्तिलाई खोप दिने तयारी गरेको छ ।

जसका लागि ६६ करोड डोज खोप आवश्यक पर्ने स्वास्थ्य अधिकारीको भनाइ छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका हरेक व्यक्तिले २८ दिनको अन्तरालमा दुई डोज खोप लिनुपर्ने जनाएको छ ।

भारतले प्रयोगमा ल्याउन लागेका खोपहरुमा अस्ट्राजेनिकाले स्थानीय साझेदारी सेरम इन्स्टिच्यूटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । यी दुबै खोपलाई चिसो ठाउँमा राख्नुपर्ने हुन्छ ।

सरकारले २९ हजार चिस्यान विन्दुहरु, २४० वटा कुलर, ७० वटा फ्रिजर, ४५ हजार रेफ्रिजेरेटर, ४१ हजार डिपफ्रिज र ३०० वटा सोलार रेफ्रिजेरेटरको व्यवस्था गरेको छ ।

कोरोनाभाइरसको संक्रमणबाट एक लाख ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । कोरोनाभाइरसका कारण भारत विश्वमै आर्थिक रुपमा सबैभन्दा बढी प्रभावित भएको छ, र लाखौं मानिसले आफ्नो रोजगारी गुमाएका छन् ।

हालै भारतका १८ हजार व्यक्तिमा गरिएको सर्वेक्षणमा झण्डै ६९ प्रतिशतले कोभिड–१९ को खोप लिन आफूहरुलाई हतारो नभएको बताएका थिए ।

सेरम इन्स्टिच्यूटले भारतमा आफूले उत्पादन गरेको खोप व्यक्ति र संस्थालाई पनि बेच्ने गरी अनुमति पाएको छ । सेरमको खोप भारतमा भारु १००० तोकिएको छ ।