१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘सक्षम व्यक्तिलाई मात्र बीमा समितिको अध्यक्ष बनाउ’

नेपालब्रिटेन डट कम्
१३ पुष २०७३, बुधबार १२:०६

काठमाडौं । बीमा समस्यालाई समाधान गर्न सक्ने सक्षम इमान्दारलाई मात्र बीमा समितिको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न नेपाल बीमित हित संरक्षण संघले सरकारसँग आग्रह गरेको छ । समग्र बीमा बजारका अवयबहरुलाई विकास प्रगति एवम उन्नतिका साथै बीमा क्षेत्रमा रहेका विद्यमान समस्या समाधान गर्न सक्ने, बीमितहरुको हक हित एवम राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बीमा बजारलाई देशको कुनाकाप्चामा पु-याउन सक्नेलाई मात्र समितिको अध्यक्ष बनाउनुपर्ने अध्यक्ष कृष्णप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जनस्तरमा बीमाप्रति विश्वास बढाउनुपर्ने चुनौति रहेका बेला गत वर्षको भूकम्पले बीमा समिति एवम बीमा कम्पनीहरुको कमजोरीका कारण बीमितहरुले आफ्नो दाबी अनुसार रकम प्राप्त गर्न नसक्दा बीमा क्षेत्रको विश्वासमा खण्डित भएको अवस्था छ । यी यावत समस्यालाई समाधान गर्न सक्ने सक्षम इमान्दार नेतृत्व अहिले आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । व्यक्तिगत आग्रह, पूर्वाग्रह नराखी बीमा समितिको मुख्य उद्देश्यअनुसार स्वच्छ छवी भएको, विषय विज्ञ एवम कुशल नेतृत्व क्षमता भएको व्यक्तिलाई मात्र समितिको अध्यक्षमा नियुक्ति गर्नका लागि नेपाल बीमित हित संरक्षण संघ नेपाल सरकार समक्ष माग गरेको विज्ञप्तिमा उल्लेख छ ।